१९९ घण्टादेखि उभिएर फुटपाथ व्यवसायीको हक र अधिकारका लागि धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगर पालिकाबिच चार बुँदे सहमति भएको छ ।
बुधवार साँझ भएको चार बुँदे सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेका छन् । महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका अभियन्ता ‘ईः’ र महानगर पालिकाबिच भएको सहमति अनुसार अब फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिनेछ ।
यस्तै महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ। समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने उल्लेख गरिएको छ ।
समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने छ । यसै गरी फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया