काठमाडौं– करिब दुई साताअघि कश्मीरमा भएको आतंकवादी हमला पछि भारत पाकिस्तानको चिसिएको सम्बन्ध आक्रमणको तहसम्म पुगेको छ ।
भारतले पाकिस्तानमाथि आक्रमण गरेर धनजनको क्षति गराएको छ भने पाकिस्तानले पनि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । भारतले बुधबार मध्यराति अपरेसन ‘सिन्दुर’नामक हवाई आक्रमणबाट पाकिस्तानका केही भूभागमा आक्रमण गरेर धनजनको क्षति गराएको छ ।
मुस्लिम अतिवादीहरुले कश्मीरमा एक नेपालीसहित २६ जनाको विभत्स हत्या गरेपछि त्यसको बदलास्वरुप भारतले पाकिस्तानमाथि आक्रमण गरेको हो।
यद्यपि, उक्त हत्यामा पाकिस्तानले आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । तर, भारत भने पाकिस्तान संरक्षित आतंकवादीहरुले उक्त हत्या गरेको भन्दै आक्रमणमै उत्रिएको हो ।
दुई देशको द्वन्द्वको चपेटामा नेपाल पर्ने आशंका निकै बढेको छ । पछिल्लो समय भारत पाकिस्तान एक अर्काविरुद्ध आक्रमणको तहमै पुगेपछि नेपालको राजनीतिक वृत्त पनि तरंगित बनेको छ ।
यहाँका दलहरुले आआफ्नो पक्षधरता जनाउन थालेका छन् । कांग्रेस र मधेशवादी दलहरुले त आतंकवाद विरुद्धको लडाइ भन्दै भारतको समर्थन जनाइरहेका छन् ।
वामपन्थी दलहरु भने औपचारिक ढंगले मुख खोलिसकेका छैनन् । उनीहरुले पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।
हिन्दु धर्माबलम्बीहरुको पनि बाहुल्य रहेको भारतमा हिन्दु धर्मकै पक्षपोषण गर्नेहरु शासन सत्तामा छन् । नेपाल झनै विगतमा हिन्दु राष्ट्र कायम भएको र अहिले पनि बहुसंख्यक हिन्दु धर्माबलम्बीहरु भएकाले यसलाई धर्मसँग जोडेर सहानुभूति प्रकट गर्न पनि थालिएको छ ।
तर, यो दुई देशीय सामरिक कारणले सिर्जित मामिला हो । उनीहरुको स्थापनाकालदेखिको आपषी द्वन्द्व उत्कर्षमा पुगेर वर्तमान परिस्थिति निम्तिएको हो । तत्कालीन उपज भनेको काश्मिरमा आतंकवादीबाट हिन्दुहरुको हत्या गरिएपछि युद्धकै अवस्था निम्तिएको हो।
भारतसँग भौगोलिक र सांस्कृतिक रुपले निकट रहेकाले नेपाली भूमि प्रयोग हुन नदिन संयम हुनुपर्छ । त्यसैका लागि बुधबार सुरक्षा परिषद र गृह मन्त्रालय अन्तर्गतको सुरक्षा समितिको बैठकले सीमा नाका र विमानस्थलमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ ।
भौगोलिक सीमा जोडिएको मुलुकले सुरक्षा सतर्कता अपनाउनु स्वाभाविकै भए पनि अहिले युद्धउन्मुख दुई देशमध्ये एकको पक्षधरता जनाउने होडबाजी दल र नेताहरुमा देखिनु दुर्भाग्यपूर्ण छ ।
नेपालको असंलग्न परराष्ट्र नीति विपरीत केही मधेशवादी दल र कांग्रेसले भारती पक्षको कदमलाई सही भन्दै समर्थन गरेका छन् । केही वामपन्थी दलका नेताहरुले समेत भारतीय कदमको समर्थन गरेका छन् । यद्यपि, सरकारको आधिकारिक धारणा भने अझैं सार्वजनिक भइसकेको छैन ।
अर्कोतिर कतिपय हिन्दुवादी संघसंस्थाहरुले पनि हिन्दुकै पक्षमा पाकिस्तान विरुद्ध आक्रमण गरिएको भन्दै त्यसप्रति सहानुभूति दर्शाइरहेका छन् । दुई देशको आन्तरिक मामिलामा नेपालले पक्षधरता देखाएर निकटता देखाउने प्रयत्न गरेपनि यसको नेपालसँग कुनै सरोकार छैन । नेपाल तटस्थ रहनु नै बुद्धिमतापूर्ण हुन्छ ।
यो विशुद्ध दुई देशको भौगोलिक र सामरिक स्वार्थ उपज सिर्जित द्वन्द्व हो । यो भारत पाकिस्ताको आन्तरिक स्वार्थले उत्पन्न भएको युद्धजन्य अवस्था भएकाले नेपालले सचेततापूर्वक सन्तुलित अभिव्यक्ति दिन आवश्यक छ । नेपालले युद्धरत देशको पक्षधरता लिएर जटिल भूराजनीतिक संवेदनशीलता भएको मुलुकलाई घातक हुनसक्छ ।
‘सर्वधर्म समभाव’लाई अंगीकार गरेर हिँडेका वैदिक सनातनीहरुले कसैविरुद्ध लक्षित भौतिक आक्रमणको समर्थन जनाउनु भनेको आफ्नै धर्म विरोधी कार्य हो । ‘बहुजन हिताय र बहुजन सुखाय’को मार्गदर्शनमा हिँड्नेहरुले कसैमाथि गरिएको आक्रमणलाई धर्म रक्षाको संज्ञा दिनु आफ्नै धर्मको उपहास हो र यसले साम्प्रदायिक भड्काव निम्त्याउँछ ।
यसले अन्त्यहीन द्वन्द्वमा फसाउने सम्भावना बढाउँछ । कुनै पनि धर्मले हत्या र हिंसालाई प्रश्रय दिँदैन । त्यसैले दुई देशबीचको सामरिक स्वार्थले सुरु भएको द्वन्द्वलाई लिएर कुनै अमुक धर्मको आडमा पक्षधरता जनाउनुको कुनै तुक छैन ।
प्रतिक्रिया