संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को ४५औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सके मात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताएका छन्।
“जेठदेखि भदौसम्मलाई हामी अपसिजन भन्दै आएका छौँ, अपसिजनमा पनि पर्यटक ल्याउन सक्नुपर्छ”, उनले भने । उनले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन सकिरहेको छैन।
“नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कूल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपाल पर्यटनको हब बन्नेछ”, उनले भनेका छन् । पर्यटन मन्त्री किराँतीले संसारको अग्लो हिमाल सगरमाथादेखि विभिन्न हिमशृङ्खला र पहाड पर्यटकका लागि पदयात्राको माध्यम बन्ने भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै उनले नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्न सके मात्र पनि यहाँको पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन्। “सरोकारवाला पर्यटन व्यवसायीसँग छलफल र सहकार्य गरेर पर्यटन क्षेत्रका समस्या समाधानमा लाग्नेछौं”, उनले भने । उनले पर्यटन क्षेत्रसम्बन्धित ऐन पुरानो रहेको भन्दै यसलाई समयसापेक्ष हिसाबले संशोधन गर्दै लैजानुपर्ने उल्लेख गरेका हुन।
टानको ४५ औँ वार्षिक साधारण सभाका अवसरमा नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारमा सञ्चारमाध्यममार्फत महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आज राससकर्मी रेग्मीसहित सेतोपाटी अनलाइनका पत्रकार सविना कार्की र एपी वान टेलिभिजनका पत्रकार सुवास थापालाई सम्मान गरिएको हो ।
प्रतिक्रिया