विश्व बैंकको वार्षिक बैठकमा भागलिन अर्थमन्त्री डा.महत मोरक्को प्रस्थान

सोमबार, २२ असोज २०८०, १० : ५७

अर्थमन्त्री डा.प्रकाश शरण महत विश्व बैङ्कको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को  तर्फ प्रस्थान गरेका छन् । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ । 

असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । सोही अवसरलाई पारेर  अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का एसिया प्यासिफिक हेर्नुहुने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्नुहुने जनाइएको छ ।

उक्त अवसर पारेर यूएस एडसँग नेपाल र अमेरिकाबिचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँचसम्बन्धी जोखिम तत्त्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउन्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवं चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल हुनेछ ।

अर्थमन्त्री डा महतले दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता हुनेछ । त्यसैगरी  अर्थमन्त्री डा महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैङ्क एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधिसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रतिनिधिसँग संयुक्त रूपमा क्षेत्रीय आर्थिक परिदृश्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रस्ट समूहसँग समेत अर्थमन्त्री डा महतले वार्ता गर्नुहुनेछ ।

अर्थमन्त्री डा महतका साथमा अर्थ सचिव डा कृष्णहरि पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी हुनुहुन्छ । बैठकमा विश्वभरका एक सय ८९ देशका अर्थ तथा विकास मन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारी, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकको सहभागिता रहनेछ ।

सोमबार, २२ असोज २०८०, १० : ५७

प्रतिक्रिया