दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै

सोमबार, २९ असोज २०८०, ०८ : ४७

काठमाडौं– दशैंको दोस्रो दिन आज  देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै छ। 

शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ। आइतबार  आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जमरा राखेपछि हिन्दू नेपालीको महान् पर्व बडादशैं सुरु भएको हो। 

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पा पनि भनिन्छ। पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ।

दुर्गा पक्षको दोस्रो दिन ब्रह्मचारिणी नाममा दूर्गा पुजा गरिन्छ। पहिलो दिन शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको थियो। तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ। 

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ।  राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा हुन्छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि देवी दूर्गाको विशेष पूजा गरिन्छ ।bramhis

सोमबार, २९ असोज २०८०, ०८ : ४७

प्रतिक्रिया