काठमाडौँ । अनलाईनमार्फत हुने ठगीमा ई–सेवा वालेटले गम्भिर त्रुटी गर्ने गरेको भेटिएको छ । असोज २७ मा बाग्लुङ घर भएकी रमिता कार्की (नाम परिवर्तन)लाई फोन आयो–‘म ई–सेवाको कर्मचारी हुँ, तपाइको बोनस आएको छ ।’ बोनस पाउन मोबाइलमा आउने कोड पठाइदिन फोन गर्नेले आग्रह गरे । रमिताले आफ्नो मोबाइलमा आएको कोड पठाइन् । त्यसपछि फेरी फोन गर्नेले फेरी भने–‘अब, ओटिपी पठाउनुस् ।’ आफ्नो मोबाइलको म्यासेजमा आएको वान टाइम पासवर्ड(ओटिपी) पठाएको केही बेरमा नै रमिताको ई–सेवा वालेटमा जम्मा गरेको रकम धमाधम ट्रान्सफर भएको म्यासेज आउन थाल्यो । एकैछिनमा ५६ हजार ट्रान्सफर भएपछि उनले ई–सेवाको कार्यालयमा फोन गरेर त्यसबारे बुझ्दा ई–सेवाका कर्मचारीले अफिसको तर्फबाट कोड नमागेको बताए । आफ्नो रकम गुमेपछि रमिताले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएकी छन् ।
उजुरीबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रविन्द्र रेग्मीले बताए । पछिल्लो समय ई–सेवामा जम्मा गरेको रकम अनलाइन माध्यमबाटै ट्रान्सफर गरेर ठगी हुने घट्ना बढिरहेका छन् । त्यसमा ई–सेवा वालेट कै गम्भिर त्रृटि देखिएको छ ।
अनलाईन मार्फत ठगी गर्नेहरुले ओटिपी मागेर रकम ट्रान्सफर गर्न थालेको लामो सयम भैसक्यो । तर, ई–सेवाले ओटिपी सेट गर्नुपर्ने समय परिवर्तन नगर्दा दैनिक धेरै सेवाग्राहीहरु ठगीएका छन् । ओटिपी सेट गर्ने समय घटाउन अनुसन्धान अधिकृतहरुले बारम्बार आग्रह गरेपनि ई–सेवाले त्यसबारे वेवास्ता गर्दा ठगीका घट्ना बढिरहेको अनुसन्धान संलग्न एकजना अधिकृतले बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृत भन्छन्–‘ओटीपी सेट गर्ने समय २ मिनेटको हुन्छ तर, हामिले सो समय घटाएर कम्तिम १ मिनेट कायम गर्न ई–सेवालाई भनेका छौ ।’
ठगीमा संलग्नहरुले दुई मिनेट भित्रमा सेवाग्राहीलाई फोन गरेर ओटिपी माग्न र सेट गर्न भ्याउने हुनाले अनलाइन ठगी बढिरहेको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ । भुक्तानी प्रदायक वालेट खल्तिले ओटिपी मागेको एक मिनेटभित्र सेट गरिसक्नुपर्ने सिस्टम विकास गरेको छ । १ मिनेटभित्र ओटिपी राख्नुपर्ने सिस्टम विकास भएसँगै खल्ति एप्स माफर्त अनधिकृत रुपमा रकम ट्रान्सफर गर्ने समस्या कम भएको अनुसन्धानमा संलग्न अधिृकतहरु बताउँछन् ।
रमिता कार्कीलाई मोबाइल नम्बर ९८१०८५२९०७ बाट कल गरेर ‘ई–सेवाको कर्मचारी बोल्दैछु’ भनेर लोभ देखाएका थिए । रमिताको खाताबाट बाल कुमारी रिजाल र संजिव माझिको नाममा ५६ हजार ४२२ रुपैयाँ अनट्रान्सफर गरेको भेटिएको छ ।
ई–सेवाले सिस्टम मजबुद बनाउन र आफ्नो कमजोरीको जिम्मा लिन नखोज्ने अनुसन्धान अधिकृतहरु बताउँछन् । ई–सेवामा खाता खोल्दा अन्य व्यक्तिको कागजातका आधारमा पनि खाता खोलिदिँदा समस्या सृजना भएको बताइएको छ ।
प्रतिक्रिया