टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ:

मंगलबार, ०७ कार्तिक २०८०, ०७ : ०६

काठमाडौं- परिवार, नातागोता वा छरछिमेकका मान्यजनबाट टीका थापेर आशीर्वाद लिनु नै दसैँको प्रमुख परम्परा हो । दसैँमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।  

आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
  ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
  शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
  विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । 

स्त्रीलाई आशीर्वाद दिने मन्त्र 

भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदतु ।
रक्षन्तु त्वां सदा देवा आशिषः सन्तु सर्वदा ।
ओम् जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वधा नमोस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी ।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।

अर्थात् तिम्रो भलो होस्, कल्याण होस्, महालक्ष्मी दुर्गा भवानी प्रसन्न हुन्, सधैँ देवताहरूले तिमीलाई रक्षा गरुन् । जयन्ती, मंगला, काली भद्रकाली, कपालिनी। दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध जगदम्बिके तपाईंलाई मेरो नमस्कार छ । देवी चामुण्डे, तपाईंको जय होस् । 
सम्पूर्ण प्राणीहरूको पीडा नाश गर्ने हे देवी ! तपाईंको जय होस् । सबैमा व्याप्त रहने हे देवी ! तपाईंको जय होस् । कालरात्रि तपार्ईंलाई नमस्कार छ ।

मंगलबार, ०७ कार्तिक २०८०, ०७ : ०६

प्रतिक्रिया