काठमाडौं- दुई पाङ्ग्रे इभी ब्रान्ड एथरको स्कुटरहरु कात्तिक १९ गते (नोभेम्बर ५) देखि नेपाली बजारमा उपलब्ध हुने भएको छ। वैद्यज् अर्गनाइजेशन अन्तर्गतको वैद्य इनर्जीले एथरको स्कुटरहरु नेपाली बजारमा ल्याउन लागेको हो।
दसैं अगाडि नै कम्पनीले उक्त स्कुटर नेपालमा ल्याएर रोड टेष्ट गरेको थियो। यस्तै अन्य रेन्ज र फिचर लगायतको विषयमा पनि कम्पनीले रोड टेष्ट गरेको थियो। कम्पनीले उक्त स्कुटरको ३ वटा मोडल आफ्नो टोयोटाको शोरुम नजिक रहेको बुटिक वर्कशप पिटस्टपमा राखिएको जनाएको छ।
जसमा एउटा ४५० एस मोडलमा टच स्क्रिन सुविधा पनि समावेश छ। साथै अन्य दुई मोडल एथर ४५० एक्स सर्ट रेन्ज र लङ रेन्ज मोडल नेपाली बजारमा उपलब्ध हुनेछ। यी स्कुटरहरुमा सबै डिजिटल सिस्टमहरु रहेका छन्। साथै रिभर्स गियर फिचर र हिल होल्ड असिस्ट सिस्टम पनि यो स्कुटरमा उपलब्ध छ।
कम्पनीले यी स्कुटरहरुलाई भेरियन्ट अनुसार ३ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म बिक्री गर्ने तयारी गरेको छ। कम्पनीले यो स्कुटर बिक्री गर्न गैरीधारा र झम्सीखेलमा शोरुम संचालनमा ल्याउने तयारी गरेको छ।
प्रतिक्रिया