तीन महिनामा नाफा मात्रै १अर्ब नजिक पुर्‍यायो एनएमबि बैङ्कले,कस्ता छन् अरू सूचक ?

शुक्रबार, १७ कार्तिक २०८०, ०६ : ४९

एनएमबि बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ।

बैङ्कले असोज मसान्तसम्ममा ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो बैङ्कले प्रकाशित गरेको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँले बढी हो। 

२०७९ असोज मसान्तसम्ममा बैङ्कको यस्तो नाफा जम्मा ९० करोड रुपैयाँ मात्रै थियो । यद्यपि बैङ्कको वितरण योग्य नाफा भने २७ करोड रुपैयाँले ऋणात्मक देखिन्छ। बैङ्कले पहिलो त्रैमासिक अवधिसम्ममा २ खर्ब एक अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरी २ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ।

१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कको जगेडा कोषमा ९ अर्ब ८७ करोड रुपैयाँ छ । बैङ्कको प्रति सेयर आम्दानी २०।९८ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिमा १९.६९ रुपैयाँ मात्रै थियो ।

बैङ्कको प्रति सेयर नेटवर्थ १५९.६९ रुपैयाँ पुगेको छ। बैङ्कको खराब कर्जा २.८४ प्रतिशत पुगेको छ जुन अघिल्लो असोज मसान्तसम्ममा १.९० प्रतिशत मात्रै थियो । बैङ्कको आरओई १३.१९ प्रतिशतबाट बढेर १३.३४ प्रतिशत पुगेको छ।

एनएमबिको सिडी रेसियो ८६.३९ प्रतिशत रहेको छ । बैङ्कको कस्ट अफ फण्ड ८.०५ प्रतिशत छ भने आधार ब्याजदर घटेर ९.८५ प्रतिशतमा झरेको छ । 

शुक्रबार, १७ कार्तिक २०८०, ०६ : ४९

प्रतिक्रिया