बैङ्कले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार सानिमा बैङ्क लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
बैङ्कले २०८० असोज मसान्तसम्ममा ४८ करोड नाफा कमाएको हो, जुन २०७९ असोज मसान्तसम्ममा ५४ करोड रुपैयाँ रहेको थियो। अर्थात् चालु आवको पहिलो त्रैमासिकमा सानिमाको नाफा ६ करोड रुपैयाँले घटेको हो।
सानिमाको वितरण योग्य नाफा पनि यसपालि १३ करोड रुपैयाँले ऋणात्मक रहेको छ। २०७९ असोज मसान्त अवधिमा बैङ्कको वितरण योग्य नाफा १५ करोड रुपैयाँ रहेको थियो। १२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कको जगेडा कोषमा ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ।
बैङ्कले असोज मसान्तसम्ममा १८५ अर्ब निक्षेप सङ्कलन गरी १४९ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा १५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सानिमाको खराब कर्जा १.७९ प्रतिशत छ भने कष्ट अफ फण्ड ७.९८ प्रतिशत छ । बैङ्कको स्प्रेड दर ४ प्रतिशत रहँदा आधार ब्याजदर ९.७५ प्रतिशत रहेको छ।
त्यस्तै नबिल बैङ्कले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ। बैङ्कले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो।
अघिल्लो आवको तुलनामा यसपालि नबिलको नाफा ११ करोड रुपैयाँले घटेको देखिए पनि बैङ्कले निक्षेप सङ्कलन तथा कर्जा लगानीमा भने सुधार नै गरेको देखिन्छ । बैङ्कले यसपालि असोज मसान्तसम्ममा ४१४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेर ३५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैङ्कले ४१७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ।
२०७९असोज मसान्तमा बैङ्कले जम्मा ३९६ रुपैयाँ निक्षेप सङ्कलन गरी ३३२ अर्ब रुपैयाँ कर्जा लगानी गरी ३६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिलको जगेडा कोषमा २८अर्ब ३९ करोड रुपैयाँ रहेको छ।
बैङ्कको प्रति सेयर आम्दानी २१.३१ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ । नबिलको खराब कर्जा १.५८ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.८९ प्रतिशत छ। बैङ्कको सीडी रेसियो ८६.५३ प्रतिशत रहँदा आधार ब्याजदर ९.५८ प्रतिशत छ ।
प्रतिक्रिया