हाल सञ्चालनमा रहेका १९ वटा वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा धेरैजसो बैङ्कको नाफा घटेको देखिएको छ ,केही सीमित बैङ्कले मात्रै नाफा बढाएका छन्।
जस अन्तर्गत सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैङ्क मध्यमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क रहेको छ। मेगा बैङ्क र इन्भेस्टमेन्ट गाभिएपछि खुद नाफामा नम्बर १ बन्न सफल भएको छ। बैङ्कले ३ महिनामा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
यसै गरी नबिल बैङ्कले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा देखिएको छ भने ग्लोबल आइएमई बैङ्क १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएर तेस्रो स्थानमा रहेको छ।
यसै गरी सिद्धार्थ बैङ्कको नाफा सबैभन्दा कम ४२ करोड ८६ लाख रुपैयाँ रहेको छ भने लक्ष्मी सनराइज बैङ्कको १ अर्ब ३ करोड रहेको छ। पहिलो त्रैमासमा एभरेस्ट बैङ्कको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै ४ अर्ब ५२ करोड रुपैयाँ देखिएको छ। यसै गरी, नबिल बैङ्कको ३ अर्ब ३२ करोड, ग्लोबल आइएमई बैङ्कको ३ अर्ब ३२ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ३ अर्ब १४ करोड रुपैयाँ छ।
यस अवधिमा सरकारी स्वामित्व रहेको कृषि विकास बैङ्क भने घाटामा नै देखिएको छ। कृषि विकास बैङ्क पहिलो त्रैमासमा १ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको देखिन्छ।विवरण अनुसार कुमारी बैङ्क, हिमालयन बैङ्क, एनआइसी एशिया बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, सिटिजन्स बैङ्क र सिद्धार्थ बैङ्कको वितरणयोग्य नाफा नकारात्मक देखिएको छ।
समीक्षा अवधिमा ग्लोबल आइएमई बैङ्कले सबैभन्दा धेरै ४ अर्ब ८० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने नबिल बैङ्कले ४ अर्ब १७ करोड र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले ४ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने नबिल बैङ्कको २७ अर्ब ५ करोड रुपैयाँ छ। स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको पुँजी सबैभन्दा कम ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको जगेडामा ३८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने माछापुच्छ्रे बैङ्कको जगेडामा सबैभन्दा कम ४ अर्ब ९१ करोड रुपैयाँ छ।
प्रतिक्रिया