आन्तरिक पर्यटक लोभ्याउँदै बेथानचोक गाउँपालिकाको "तीनतले झरना"

१ महिना अगाडि

तीनतले  झरना काभ्रेको नयाँ पर्यटकीय गन्तव्य काभ्रेपलान्चोकको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक  गाउँपालिकामा तीन तले झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालीनतापूर्वक प्रदर्शन गरिरहेको छ। 

आन्तरिक पर्यटकलाई लोभ्याई रहेको तीन तले झरना हेर्न घुम्नका लागि आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ, सौन्दर्ययताले पोतिएको बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीस्थित   तीन तले झरनामा आन्तरिक पर्यटकको रूपमा दैनिक घुम्न जानेको सङ्ख्या  बढेको वडा नं.१ का अध्यक्ष मधुसूदन तिम्सिनाले जानकारी दिएका छन्। 

चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको  च्यालम  तथा फाइमराङको बिचमा रहेको झरनामा गत वर्षभन्दा यस वर्ष आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । झरना घुम्न हे हेर्नाका लागि आजकाल दिनहुँ जसो कोही न कोही पुगिरहेका हुन्छन् अझै बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको तिम्सिनाको भनाई छ ।

पछिल्ला केही महिनादेखि झरना बालबालिकादेखि वयस्कसम्मको आकर्षणको केन्द्र नै बनेको पाइन्छ । झरनासम्म पुगेर खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न सबै खाले पर्यटक लालायित हुने गरेको देखिन्छ । 

“झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेरा बार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेरा बार निर्माण गरिएको छ, सुरक्षित मनोरञ्जनमा रमाउने पर्यटक दिनभर रमाउने र पुनः दोहोरिने गरेको तिम्सिनाको भनाई छ । 

तीन वटा तला भई बगेका कारण नै तीन तले झरना नामकरण उक्त झरनाको दोस्रो तलासम्म पुगी दोस्रो तला तथा सबैभन्दा तलको तलाको झरनासँगै निर्माण गरिएको पोखरी अवलोकन गर्न सकिन्छ । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आकर्षण हो । 

केही महिनादेखि झरना अवलोकन तथा केही दिन बिताउन चाहनेहरू काभ्रेपलान्चोककै बनेपा, धुलिखेल र पनौती सहरलगायत काठमाडौँ उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष मधुसूदन बताउँछन् । 

स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको स्वाद लिन पाइने च्याम्राङ्गबेँसीमा  आन्तरिक पर्यटक जान थालेसँगै व्यापार व्यवसाय समेत बढ्न थालेको हो । 

झरनासम्म पुग्न क्षेत्रअनुसार फरक–फरक मार्गको उपयोग गर्न सकिन्छ । काभ्रेपलान्चोककै पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडक यात्रा गर्नुपर्ने हुन्छ । बेथानचोक गाउँपालिकाकै ढुुङ्खर्कदेखि  तीन तले झरनासम्मको यात्रा थप रोचक बन्न सक्छ। किनभने हिमाली हावासँगै उत्तरतर्फ लहरमा मिलेर बसेका सेताम्मे हिमाल निकटबाट झैँ नियाल्दै गुवा भन्ज्याङबाट यात्रा सुरु गरेपछि रमणीय बस्ती र नवपाखा घुमाउरो सडकले थप मन रोमाञ्चित बनाउने छ ।

त्यसैगरी झरना पुग्ने अर्को सडक ललितपुर जिल्लाबाट पनि छ । ललितपुरको दक्षिणी क्षेत्र गोट्टी खेलबाट चन्दनपुर, कालेश्वर हुँदै करिब १० किलोमिटर ओरालो यात्रापछि च्याम्राङ्गबेँसी पुगिन्छ । पहाडी जङ्गल क्षेत्रको मुहान भएकाले पनि यस झरनामा हिउँदको समयमा पानीको मात्रा केही घटे पनि झरना नसुक्ने भएकाले हिउँदको समयमा पनि झरनाको अवलोकन गर्न र पोखरीमा नुहाउँदै मनोरञ्जन गर्नेहरूका लागि यो स्थल अत्यन्तै आकर्षक बन्दै गएको छ ।
 
झरना स्थलमा थप पूर्वाधारको विकासका लागि बेथानचोक गाउँपालिकाले पर्यटकको सुरक्षा र आकर्षणका लागि रु २० लाखको संरचना निर्माण गरेपछि केही सहजताको महसुस गरिएको छ ।त्यो बाहेक सोही ठाउँमा पुग्ने बाटो निर्माण गर्नका लागि पालीकाले १५ लाख र सङ्घीय सरकारबाट २ करोड बजेट विनियोजन भएको अध्यक्ष तिम्सिनाले जानकारी दिएका छन् । 

उक्त स्थानमा यही वर्ष कपडा चेन्नजीङ्ग रुम , शौचालय , प्रतीक्षालय लगायतका भौतिक संरचना निर्माण भइरहेको अध्यक्ष तिम्सिनाको भनाई छ । भौतिक संरचना तय भएसँगै झरनालाई अर्थतन्त्रसँग जोडेर आन्तरिक श्रोत वृद्धि गर्ने उनले बताए ।  

१ महिना अगाडि

प्रतिक्रिया