जाजरकोट र पश्चिम रुकुममा भूकम्प जाने क्रम अझैसम्म रोकिएको छैन । एकपछि अर्को सयौँको सङ्ख्यामा पराकम्पहरू निरन्तर रूपमा गइरहेका छन् । यस्तो बेला उक्त स्थानमा सकेसम्मको साथ र सहयोगको आवश्यकता जरुरी रहन्छ ।
जाजरकोटको नलगाडमा अझैसम्म पर्याप्त राहत नपुगेको पीडितहरूको गुनासो छ । अहिले अन्तर्राष्ट्रिय स्तरबाट मात्रै नभएर नेपाल भित्र सञ्चालन भएको विभिन्न सङ्घ-संस्थाको समेत भूकम्प पीडितलाई राम्रो सहयोग मिलेको छ ।
पीडितहरूका लागि सहयोग गर्ने संस्थाहरुमा यो पटक वाणिज्य बैङ्कहरू अग्र भागमा देखिएका छन् । हालसम्म ५ करोड रुपैयाँ भन्दा बढी सहयोग वाणिज्य बैङ्कहरूले गरिसकेका छन् । राष्ट्र बैङ्कले हरेक बैङ्कहरूले नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने नियम बनाएको छ । त्यस्तो रकम सात प्रदेशमा कम्तीमा १०% का दरले खर्च गर्नु पर्ने नियम छ ।
राष्ट्र बैङ्कको यो नियमले भने भूकम्प पीडितका लागि सहयोग गर्न असहज भएको सङ्घले जनाएको छ । नेपाल बैंकर्स सङ्घले सहयोगको क्रम निरन्तर रहेको बताएको छ । हालसम्म सानिमा बैङ्कले २५ लाख, एनआईसी एशिया बैङ्कले ५१ लाख, सिटिजन्स बैङ्कले २५ लाख, प्राईम कमर्सियल बैङ्कले २५ लाख ५१ हजार सहयोग दिइसकेका छन् । नबिल बैङ्कले एक करोड बराबरको राहत सामग्री दिने भनेको छ ।
प्रतिक्रिया