कात्तिक २० गतेबाट राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बिमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनका लागि कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको थियो।
हाल कायम चुक्ता पुँजीको आधारमा कम्पनीमा जान मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएसँगै संस्थानले प्रक्रिया अघि बढाएको थियो । लामो समयदेखि पुँजी वृद्धिका लागि संस्थानले पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन चाहिरहेको अवस्थामा सरकारी पूर्ण स्वामित्वका कारण प्रक्रिया लम्बिएको थियो।
संस्थानले हाल कायम ५० करोड रुपैयाँ अधिकृत पुँजी र १८ करोड १० लाख चुक्ता पुँजी संरचना कायम राखी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । बिमा कम्पनीहरूमा यति बेला पुँजी वृद्धिको दबाब जारी छ । नियामक निकाय नेपाल बिमा प्राधिकरणले जीवन बिमाका लागि ५ अर्ब र निर्जीवन बिमा कम्पनीका लागि २ अर्ब ५० करोड चुक्ता पुँजी कायम गर्न दबाब दिइरहेको अवस्थामा पब्लिक लिमिटेडमा परिणत भइसकेको संस्थानलाई समेत पुँजीको दबाब कायमै रहनेछ ।
पब्लिक कम्पनीको प्रक्रिया पूरा गरिसकेको अवस्थामा अब सर्वसाधारणमा आइपिओ निष्कासन प्रक्रियाका लागि आवश्यक कामलाई निरन्तरता दिने जानकारी कम्पनीले दिएको छ । पब्लिक लिमिटेड कम्पनीमा परिणत भएसँगै बसेको पहिलो बैठकले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी महेश रिमाललाई दिइएको छ । रिमाल यसअघि संस्थानको नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया