नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन

शनिबार, २५ कार्तिक २०८०, ०६ : ५७

प्रतिनिधि सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । शुक्रवार बसेको समिति बैठकले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

यस अघि २०८० जेठ २९मा समितिले नयाँ स्टक र ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।  समितिले केही महिना अघि नै ब्रोकर लाइसेन्स वितरणको बाटो खोलिदिएको थियो । सोही अनुसार नयाँ ब्रोकर कम्पनीहरूले लाइसेन्स लिएर पनि कारोबार थालिसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मन्त्री परिषद् बैठकबाट २०८० वैशाख २८मा नयाँ स्टकको लाइसेन्स रोक्ने निर्णय गरेका थिए । संसदीय समितिले लाइसेन्सको बाटो खोलिदिएपछि अब भने सरकारमाथि पनि दबाब बढेको छ ।

 नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघि नै आदेश दिइसकेको छ । नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक, नेसनल स्टक र अन्नपूर्ण स्टकले आवेदन दिएका छन् । यी तीनमध्ये हिमालयन र नेसनलबिच प्रतिस्पर्धा छ ।


 

शनिबार, २५ कार्तिक २०८०, ०६ : ५७

प्रतिक्रिया