अमेरिकी डलर महँगिएर इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ। आइतबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ।
अब १ डलर किन्न १३३.६५ रुपैयाँ खर्चिनुपर्ने भएको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल राष्ट्र बैङ्कले आइतबारलाई १ डलर बराबर १३३.६५ रुपैयाँ बिक्रीदर तोकेको छ। यस्तै खरिद दर १३३.०५ रुपैयाँ छ। एक वर्षयता केही सामान्य उतारचढाव आए पनि गत असोज २ मा डलरको भाउ बढेर १३३.५४ र कात्तिक १६ मा १ डलर बराबर १३३.५७ रुपैयाँ कायम भएको थियो।
असोजदेखि डलरको भाउ १३३ रुपैयाँबाट तल झरेको छैन। भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो। मङ्गलवार १ डलर बराबर ८३.३० भारु पुगेको भारतीय रिजर्भ बैङ्क (आरबिआई) ले जनाएको छ। डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो।
भारु र नेपाली रुपैयाँबिच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ।
अमेरिकाको केन्द्रीय बैङ्क फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाएपछि भारतजस्ता उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ। डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन पुगेको छ। विश्व बजारमा डलरको ग्राफ उकालो लाग्दै गएको छ।
राष्ट्र बैङ्कका अनुसार गत असारको तुलनामा असोजमा डलरसँग नेपाली रुपैयाँ १.३४ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.०१ प्रतिशतले अवमूल्यन भएको थियो।
प्रतिक्रिया