काठमाडौँ । विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड स्थापनाको ८६ वर्ष पूरा गरी ८७ औँ वर्षमा प्रवेश गरेको छ ।
८७ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको कम्पनीको चुक्तापूँजी १४.६९ अर्ब रुपैयाँ पुगेको छ । प्रत्येक वर्ष सञ्चालन मुनाफामा बढोत्तरी हुँदै गएको कम्पनीको जगेडा कोषमा २१.८८ अर्ब रुपियाँ छ भने पुँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र नेटवर्क ३६.५८ अर्बभन्दा बढी रहेको छ
हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी करिब ३ हजार ६०० जना कर्मचारीमार्फत आधुनिक बैङ्किङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको कम्पनीको २२८ वटा शाखा, ५८ वटा विस्तारित काउन्टर तथा २०४ वटा एटिएम बुथ रहेको छ । कम्पनीले देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको पनि जनाएको छ ।
कम्पनीले विगत आव २०७६ र ७७ देखि आफ्ना सेयरधनीहरुलाई नियमित रूपमा बोनस सेयर तथा नगद लाभांश प्रदान गर्दै आइरहेको बताएको छ । कम्पनीका सूचना अधिकारी प्रकाशकुमार अधिकारीका अनुसार २०८० असार मसान्तसम्म कम्पनीले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रदान गरेको छ ।
प्रतिक्रिया