अन्तरबैंक कारोबार १५ खर्ब पुग्यो

आइतबार, १० मंसिर २०८०, १२ : ३३

 काठमाडौं – मुलुुक आर्थिक मन्दीमा भए पनि नेपालका  बैंक तथा वित्तीय संस्थाहरूले झण्डै १५ खर्ब रूपैयाँ बराबरको अन्तरबैंक कारोबार गरेको  नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म ५४ वटा बैंक तथा वित्तीय संस्थाले कुल १४ खर्ब ९४ अर्ब आठ करोड रूपैयाँ बराबरको अन्तरबैंक कारोबार गरेका छन् ।

वाणिज्य बैंकहरूले १३ खर्ब नौ अर्ब ७३ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले एक खर्ब ८४ अर्ब ३४ करोड रूपैैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् । बैंक तथा वित्तीय संस्थाको यो कारोबार गत आर्थिक वर्षकोे पहिलो त्रैमासको तुलनामा पाँच खर्ब ३२ अर्ब रूपैयाँले बढी हो ।

नेपाल राष्ट्र बैंकले दिएको सुचना अनुसार २०७९ असोजमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १० दशमलव १४ प्रतिशत रहेकोमा २०८० असोजमा चार दशमलव ९४ प्रतिशतमा झरेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ असोजमा आठ दशमलव ५१ प्रतिशत रहेकोमा २०८० असोजमा दुई दशमलव २६ प्रतिशत रहेको छ ।

 वाणिज्य बैंकहरूको औसत आधार दर २०८० असोजमा नौ दशमलव ९४ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव ३० प्रतिशत र फाइनान्स कम्पनीहरूको १३ दशमलव ६५ प्रतिशत छ । अघिल्लो वर्षको असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ३४ प्रतिशत थियो ।

 २०८० असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ९० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूको भारित औसत ब्याजदर क्रमशः नौ दशमलव ३६ र १० दशमलव १९ प्रतिशत छ । २०७९ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव १६ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० असोजमा वाणिज्य बैंकहरूको १२ दशमलव ११ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ९१ प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव ६१ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०७९ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव १९ प्रतिशत कायम भएको थियो ।
 

आइतबार, १० मंसिर २०८०, १२ : ३३

प्रतिक्रिया