नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा ,यात्रुलाई सहजता

५ महिना अगाडि

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा आएका छन्। लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधवारदेखि सञ्चालनमा आएका हुन्। 

यससँगै दुई वटै पुल भएर गाडी गुड्न थालेको नाग ढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए। उनका अनुसार यसअघि पाँच वटा पुल सञ्चालनमा आइसकेका छन्। सडक खण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन। सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताए। 

शुक्रवारसम्म टोपे खोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए। निर्माणाधीन पुलमध्ये आठ वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए। “अधिकांश पुलको निर्माण अन्तिम चरणमा छ”, इन्जिनियर दराईले भने, “कालोपत्रे र मर्मतको काम सकिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउँछौँ।” 

दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, काली खोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन्। खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ। खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन। तुहिन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो। आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ। 

“सम्भवतः एक महिनाभित्र विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको छ, आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भन्नुभयो, “बारुद राख्नका लागि नेपाली सेनाद्वारा बङ्करको निर्माण गर्ने काम भइरहेको छ।” यस सडक खण्डमा २०७६ चैतदेखि १५ पुल निर्माण थालिएका थिए । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन्। रासस

५ महिना अगाडि

प्रतिक्रिया