काठमाडौँ । आन्तरिक राजस्व कार्यालय ललितपुर–१ ले चालु आर्थिक वर्षको चार महिनामा पौने ३ अर्ब राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कार्यालयले कूल २ अर्ब ७५ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको राजस्व विभागका सूचना अधिकारी किशोर नेपालले आजको अर्थलाई बताए ।
आन्तरिक राजस्व कार्यालय ललितपुर–१ को वार्षिक राजस्व लक्ष्य ११ अर्ब ९९ करोड ४१ लाख ७८ हजार रुपैयाँ रहेको छ । जसमध्ये चालु आर्थिक वर्षको चौमासको राजस्व सङ्कलनको २३ प्रतिशतको सफलता हो।
राजस्व कार्यालय ललितपुर–१ ले ५६ करोड ४७ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने मासिक लक्ष्यमा कार्यालयले कार्तिक महिनामा ५६ करोड ८५ लाख ३९ हजार राजस्व रकम जम्मा गरेको छ । चौमासको अवधिमा कार्यालयले आयकरतर्फ २८ करोड १५ लाख ६३ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २५ करोड ६९ लाख ५१ हजार रुपैयाँ र ब्याज आम्दानी बापत १ करोड ९५ लाख २ हजार रुपैयाँ उठाएको छ ।
यसै गरी आन्तरिक राजस्व कार्यालय ललितपुर–१ ले बहाल कर बापत ३७ लाख ८० हजार रुपैयाँ, भन्सार कर बापत १ करोड ४९ लाख ८९ हजार रुपैयाँ र स्वास्थ्य कर बापत २ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यता शिक्षातर्फ कात्तिकमा ८ हजार राजस्व सङ्कलनको लक्ष्य राखेकोमा उक्त शीर्षकमा राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी नेपालले बताए ।
प्रतिक्रिया