२९% प्रतिशत बोनस सेयर वितरण गर्दै नेशनल बैंकिङ इन्स्टिच्यूट

शुक्रबार, १५ मंसिर २०८०, ०८ : ४५

काठमाडौँ- नेशनल बैंकिङ इन्स्टिच्यूटले आफ्ना सेयरधीलाई २९% प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।

आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट यो कम्पनीले आफ्ना सेयरधनीलाई २९% प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । 

यसैगरी, वोनस सेयरबापत लाग्ने कर प्रयोजनका लागि थप १५.५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्नेछ । यसरी यो कम्पनीले नगद र बोनस गरी गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ३००.५३ प्रतिशत लाभांश वितरण गर्नेछ । 

बम्पर लाभांश वितरणको प्रस्तावसहित यो कम्पनीले आगामी पुस ५ गते आफ्नो १५ औं वार्षिक साधारणसभा समेत बोलाएको छ । 

दिउँसो ४ बजेदेखि काठमाण्डौको होटल याक एण्ड यतिमा साधारणसभा सुरु हुने सूचनामा जनाइएको छ । 

सञ्चालक समितिबाट नियुक्त सञ्चालकहरु नेपाल बैंकर्स एशोसिएसनका अनिल शर्मा र नेपाल एसबीआई बैंकका तर्फबाट राजेशकुमार पण्डाको नियुक्तिलाई अनुमोदन गर्ने अजेण्डा पनि सभामा प्रस्तुत हुनेछ । 

कम्पनीले आफ्नो अधिकृत पूँजी ४० करोड, जारी पूँजी ३० करोड र बोनस वितरणपछि कायम हुने चुक्तापूँजी १९ करोड ७५ लाख बनाउने प्रस्ताव समेत सभामा लैजानेछ । 

यस्तै, कम्पनीले आफ्ना सेयरधनी बढाउन तथा सम्बन्धित सबै पक्षको सहभागिता बढाउनका लागि १० करोड २५ लाख मूल्य बराबरको हकप्रद सेयर समेत बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीप्रति देशका बैंक तथा वित्तीय संस्थाहरुको अपनत्व बढाउन तथा स्वामित्वको भावना विकास गर्न कम्पनीका हाल कायम सेयरधनीका अतिरिक्त अन्य क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई पनि कम्पनीमा समेट्नका लागि ती संस्थाका सम्बन्धित व्यवसायिक संगठनहरु तथा हाल कायम संस्थापक सेयरधनीका लागि समेत १० करोड २५ लाख बराबरको हकप्रद रु. १०० कै दरले बिक्री गर्ने अजेण्डा समेत राखिएको छ । 

हाल यो कम्पनीको संस्थापक सेयरधनीहरुको रुपमा नेपाल राष्टबैंकसहित १७ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । आरएमडिसी लघुवित्त, एनआइसी एशिया बैंक, नेपाल बैंक, नवील बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, प्रभू बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेड प्रमोटरको रुपमा रहेका छन् । 

कम्पनीको अध्यक्ष नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठ रहेका छन् । 

शुक्रबार, १५ मंसिर २०८०, ०८ : ४५

प्रतिक्रिया