प्राधिकरणको स्वीकृति बिना नै एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री, कस्तो छ प्रावधान ?

शनिबार, १६ मंसिर २०८०, ०७ : १८

काठमाडौँ । दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको स्वीकृति विना नै एनसेलमा आजियाटा समूहको ८० प्रतिशत शेयर किनबेच गरिसकेको छ । 

मलेसियाको आजियाटा समूहले एनसेलमा भएको ८० प्रतिशत शेयर बिक्री गर्ने बुधबारका दिन घोषणा गरेको थियो । तर, दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने प्रावधान छ । 

आजियाटा समूहले प्राधिकरणको स्वीकृति विना नै एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री भएको खुल्न आएको छ ।  प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्री भएको थाहा पाए पनि प्राधिकरणमा स्वीकृतिको लागि केही सूचना नआएको बताए। ‘मलाई जानकारी भएसम्म कुनै पनि कम्पनी शेयर खरिद बिक्री गरेको जानकारी अथवा स्वीकृति माग्न कोही आएको छैन,’ उनले भने ‘एनसेलमा भएको ८० प्रतिशत शेयर पूर्व स्वीकृति लिएको छैन । हामी यस बारेमा अध्ययन गर्दै छौँ ।’

 शुक्रवार एनसेल आजियटालाई प्राधिकरणले पत्र लेखिसकेको उनको भनाई छ । नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) नियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमति पत्र प्राप्त व्यक्तिले आफ्ना सेयर धनीको शेयर खरिद बिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

शुक्रवार आजियाटा समूहले बिक्री गरेको एनसेलको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युकेले किनेको एनसेलले पुष्टि गरिसकेको छ । स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन । उक्त कम्पनीले आजियाटाको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेको एनसेलले जनाएको छ ।

एनसेलमा मलेसियन आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत शेयर स्वामित्व थियो। बाँकी २० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व छ।
 

शनिबार, १६ मंसिर २०८०, ०७ : १८

प्रतिक्रिया