काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा विस्तारै सुधारका संकेतहरु देखिन थालेको बताएका छन् । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
अर्थमन्त्री महतले भने, ‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ । मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । घर जग्गा कारोबार पनि बढ्दै छ ।’
सो अवसरमा मन्त्री महतले भने, ‘स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिनेगरी नयाँ मापदण्ड जारी गरिएको छ, जसमा चालु आर्थिक वर्षको विनियोजनको चार गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले आयोजनाको प्राथमिकीकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ । त्यसैगरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ ।’
पत्रकार सम्मेलनमा मन्त्री डा. महतले राजस्व परिचालनमा पनि क्रमश ः सुधार देखिएको दाबी गरे । उनले बजेटमार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कर आधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको पनि बताए ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच उच्चस्तरीय छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश ः खुकुलो बनाउँदै लगिएको अर्थमन्त्री महतले बताए । उनले भने ‘हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ । सार्वजनिक संस्थान सुधारका लागि निजीकरण समितिलाई क्रियाशील बनाई काम अगाडि बढाइएको छ, ।’
प्रतिक्रिया