निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा यथावत रहने किरातीको प्रतिबद्धता

आइतबार, ०१ पुस २०८०, १७ : ४९

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कर्मचारीलाई आन्दोलन रोक्न निर्देशन दिएका छन् ।आइतबार पर्यटन मन्त्री किरातीले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा यथावत रहने प्रतिबद्धता जनाउँदै निगम कर्मचारीलाई आन्दोलन रोक्न निर्देशन दिएका हुन् ।निगमका सम्पूर्ण क्रियाशील ट्रेड युनियनलाई आइतबार पत्र पठाउँदै आन्दोलन रोक्न निर्देशन दिएको पर्यटन मन्त्रीका निजी सचिवालयका शाखा अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

उक्त पत्रमा नेपाल वायुसेवा निगमको भूमिस्थ प्रवन्ध सेवाका सम्बन्धमा औपचारिक रुपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारी निर्णय नभएको उल्लेख छ ।उक्त विषयमा निगमको समग्र सुधारमा केन्द्रीत हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाएर काम गर्न कर्मचारीलाई मन्त्री किरातीले निर्देशन दिएको उल्लेख छ ।मन्त्री किरातीले सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरुले सञ्चालन गरेको आन्दोलनका सबै गतिविधि रोकेर तत्कालै काममा र्फकन निर्देशन दिएको पत्रमा उल्लेख छ ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर १५ गते वायुसेवा निगमले हालसम्म एकाधिकार पाएको त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्ने गरी निर्णय गरेको थियो ।प्राधिकरणले अब उक्त सेवामा प्रतिस्पर्धा गराउने निर्णय गरेपछि निगमको प्रमुख आम्दानीको स्रोत मानिएको सेवा खोसिने भएपछि निगम कर्मचारीले १२ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

वायुसेवा निगमले हालसम्म ग्राउण्ड ह्याण्डलिङ सेवामा १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको दाबी छ । यस्तो लगानीबाट त्रिभुवन विमानस्थबाट मात्रै यसले बार्षिक करीब ४ अर्ब रुपैयाँ आम्दानी गर्छ ।निगमले विमानस्थलमा यात्रुलाई जहाजसम्म पुर्याउने र यात्रुको सामान व्यवस्थापन गर्ने अर्थात ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छ । निगले हाल नेपालमा उडान गरिरहेका ३० वटा अन्तर्राष्ट्रिय उडानका वायुसेवामध्ये एयर इन्ण्डियाबाहेक सबैलाई उक्त सेवा दिँदै आएको छ ।

आइतबार, ०१ पुस २०८०, १७ : ४९

प्रतिक्रिया