काठमाडौं। बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एक महिनाको अवधिमा १२औं पटक तरलता तान्ने भएको छ।
राष्ट्र बैंकले बुधबार निक्षेप संकलन बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएको जनाएको छ ।
यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भएर बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ।बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था भए पनि पछिल्लो समय केन्द्रीय बैंकले बोलकबोलबाटै पैसा तानिरहेको छ।
बुधबार गर्न लागेको निक्षेप संकलन बोलकबोल १४ दिन अवधिको हो । मंसिर ६ गतेदेखि बुधबारसमेत गरेर १२ पटक संकलन गर्दैछ । मंगलबारसम्म राष्ट्र बैंकले एक खर्ब ६५ अर्बका लागि आह्वान गरेको थियो । त्यसमध्ये एक खर्ब ४७ अर्ब २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट तानेको छ । प्रणालीमा अहिले ३३ अर्ब रुपैयाँ अधिक तरतला छ । यो अनिवार्य तरलता अनुपात (सीआरआर) घटाएर हो ।
प्रतिक्रिया