काठमाडौं- सरकारले उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाए पनि किसानहरुले असन्तुष्टि जनाएका छन् ।
कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले बुधबार उखुको मूल्य अनुदान बाहेक प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेका छ । किसानहरुले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५४० र अनुदान बापत ७० रुपैयाँ पाएका थिए ।
बजारमा चिनीको मूल्य आकासिएको अवस्थामा उखुको मूल्य प्रतिक्विन्टल ८ सय हुनुपर्ने किसानहरुको माग छ । कलैया उपमहानगर वडा नं २१ का राजालाल प्रसाद साहले सरकारले उखु किसानहरुमाथि धेरै अन्याय गरेको गुनासो गरे । ‘हाम्रो माग प्रतिक्विन्टल ८ सय रुपैयाँ थियो तर, सरकारले किसानका प्रतिनिधिहरुसँग राय सल्लाह नलिई उखुको मूल्य तोकेको छ,’ साहले भने, ‘बजारमा चिनीको मूल्य बढेको बढ्यै छ तर उखुको मूल्य भने खेती गरेको खर्च पनि नउठ्ने गरी तोक्दा हामी मर्कामा छौँ ।’
किसानहरुले प्रति बिघा उखु खेतीमा कटान बाहेक न्यूनतम् एक लाख रुपैयाँ खर्च हुने बताएका छन् । कोल्हवी नगरपालिका वडा नं ९ का उखु किसान जलेन्द्र प्रसाद यादवले २ बिघामा उखु खेती गरेका छन् । उनले सरकारले उखुको मूल्यमा प्रतिक्विन्टल २५ रुपैयाँमात्रै बढाउँदा किसानहरुलाई कुनै फाइदा नभएको बताए । ‘अनुदान बाहेक ७ सय सम्म तोकेको भए हाम्रो केही खर्च उठ्थ्यो तर किसानहरुले वर्षभरि लगाएर गरेको खेती भाउ भएन भने के अर्थ ?’ यादवले भने ‘ज्यालादारी नै दिनको ५ सय पर्छ, २/३ सय लोड/अनलोड र सफाइमा खर्च हुन्छ । सरकारले तोकेको मूल्यबाट हामीलाई केही फाइदा छैन, अब उखु खेती नै छोड्ने हाम्रो विचार छ ।’
उखु किसान हकहित संघर्ष समितिले भने सरकारले तोकेको उखुको मूल्यको विरोधमा आन्दोलन सशक्त बनाउने जनाएको छ । संघर्ष समितिका अध्यक्ष इन्द्रदेव कुशवाहाले रिलायन्स चिनी मिलले किसानसँग लिएको उखुबाट चिनीबाहेक अन्य ३ प्रकारका मूल्यवान सामग्री उत्पादन गर्ने भएकाले सबै उत्पादित वस्तुको मूल्यलाई जोडेर न्यूनतम् उखुको मूल्य अनुदानसहित ८०४ रुपैयाँ हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया