काठमाडौँ - नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय विद्युतीय सवारीमा तीव्र आकर्षण बढेको छ । पेट्रोलियम गाडीको विकल्पमा सरकारले समेत भन्सार तथा राजस्व छुट दिएसँगै विद्युतीय गाडी चाहनेहरूको भिड बढेको हो । फलतः अटोमोबाइल व्यवसायीहरु समेत पेट्रोलियम गाडीमा भन्दा विद्युतीयतर्फ बढी आकर्षित हुँदा इलेक्ट्रिक (विद्युतीय) सवारीको आयात बढ्न पुगेको हो । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा ३ हजार ६७५ वटा विद्युतीय सवारी कार, भ्यान, जिप नेपाल आयात भएका छन् ।
विभागको तथ्याङ्कअनुसार समीक्षा अवधिमा ५० किलोवाटसम्मका ५ अर्ब ८१ करोड २३ लाख ९२ हजार रुपैयाँ बराबरका २ हजार २८ वटा विद्युतीय कार, भ्यान, जिप आयात भएका छन् भने २६ करोड २६ लाख ४२ लाख रुपैयाँ बराबरका ५२ वटा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका विद्युतीय गाडीहरू आयात भएका छन् । यसैगरी सोही अवधिमा ७ करोड ७० लाख ३ हजार रुपैयाँ बराबरका ११ वटा ठुला २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार ११ देखि १४ सिट क्षमताका १३४ वटा विद्युतीय माइक्रोबस समेत आयात भएको छ । यी माइक्रोबस आयातबापत ४१ करोड ४४ लाख रुपैयाँ बाहिरिएको छ भने १५ देखि २५ सिट क्षमताका ५६ वटा मिनी बस आयातमा १८ करोड ७६ लाख रुपैयाँ बाहिरिएको छ ।यसैगरी, ३७ करोड ८१ लाख रुपैयाँ बराबरको १६६ वटा जीव, कार र भ्यान समेत आयात भएको तथ्याङ्क छ । योसँगै चालु आर्थिक वर्षको ५ महिनामा विद्युतीय गाडी आयातमा कूल ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ बाहिरिएको छ । तर विद्युतीय गाडीमा ६०–८० प्रतिशतसम्म भन्सार छुटका कारण ९ अर्बमाथिको सवारी आयात हुँदै गर्दा यता मुस्किलले ३ अर्ब ९२ करोड ४ लाख ४ हजार रुपैयाँ मात्र भन्सार राजस्व उठ्न सकेको छ ।
प्रतिक्रिया