ताजा समाचार

गभर्नरको योग्यतामाथि प्रश्न उठाएको रीट आज सर्वोच्चमा दर्ता

विहीबार, १२ पुस २०८०, ०९ : २१

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा पेश गरेको रीट आज (पुस १२ गते) बिहीबार, दर्ता हुने भएको छ।

अधिवक्ता दीपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले आज सर्वोच्चमा रीट दर्ता गर्दै छन्। गभर्नर सो पदमा रहन योग्य नरहेको दाबीसहित गत कात्तिक ३ गते पेश गरिएको सो रीट हिजो (पुस ११ गते) मात्र सर्वोच्चको रजिस्टारले दर्ता गर्ने अनुमति दिएको थियो।

रिटसम्बन्धी सम्पूर्ण दस्तुर बुझाइसकेको बताइएको छ। गभर्नर अधिकारीले पेश गरेको शैक्षिक योग्यता गभर्नरको शैक्षिक योग्यताको मापदण्ड भित्र नपर्ने भएकाले उनी गभर्नर पदका लागि योग्य नभएको दाबी रिटमा गरिएको छ। अधिकारीले आफूसँग सीए (चार्टर्ड एकाउन्टेन्ट) को योग्यता भएको बताउँछन् तर त्यो तालिम मात्रै भएको दाबी रिटमा गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ तर सीएको योग्यतालाई नेपालमा स्नातकोत्तर उपाधि मान्ने गरिएको छैन भन्ने रिटमा उल्लेख छ।

विहीबार, १२ पुस २०८०, ०९ : २१

प्रतिक्रिया