चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषि मन्त्री भुसालको निर्देशन

बुधबार, २५ पुस २०८०, १६ : ४५

काठमाडौँ- चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले निर्देशन दिएका छन् ।

आज प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । उनले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको पनि बताएका छन् ।

 संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाएको उनले बताएका छन्  उनले चैतभित्रमा किसानहरूको दुग्धको भुक्तानी दिन निर्देशन दिदैँ अहिले डिडिसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरूले भुक्तानी नपाएको समस्या रहेको बताए ।

उनले धान उत्पादनको धेरै महत्व रहेकाले तराईमा सिँचाइ सुविधा पु¥याउन आवश्यक रहेको बताए । उनले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको बताए । उनले कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालिमा सिँचाइ हुने गरेको बताए ।

उनले भने ‘धान उत्पादनको महत्व ठूलो छ । आर्थिक वर्ष २०७८/७९मा लिएको कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टरमा खेती गरिरहेका छौैं । त्यसमध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको छ । धान खेतीको ६८ प्रतिशत हिस्सा तराईमा हो । तर १७ प्रतिशत मात्रै बालिमा सिँचाइ हुन्छ । बाँकी आकाशे पानीको भरमा हो । आकाशबाट पानी आयो खेती हुन्छ नभए हुँदैन । त्यसैले तराईमा सिँचाइमा जोड दिन खाजेको हो । तराईमा पानीको फमहरु सुक्दै गएकाले चुरे फेदीबाट पूर्वपश्चिम नहर बनाउनु पर्छ । नदी प्रणालीलाई जोड्नुपर्छ । त्यो गर्नुको विकल्प छैन । त्यो नगर्ने हो भने तराई मधेस मरुभूमि हुन्छ । हामी अनिकालले मर्छौँ । भारतले धान निर्यात नगर्ने भनेको छ । विश्वमा खाद्य संकट आउँदै छ । मुलुकको खाद्य भण्डार कहाँ हो भन्ने थाहा पाएनौँ र हामीसँग भएको जमिनलाई प्रयोग गर्न सकनौं भने हामी खाद्यन्नमा समस्यामा पछौं । डिडिसीको आम्दानी नगर्ने ऋण मात्रै थुपार्ने र किसानलाई भुक्तानी नगर्न र आम्दानीको रकम कहाँ गएको छ थाहा नभएकाले हामीले केही कदम चालेका छौं । चैतभित्रमा नै किसानहरूको दुग्धको भुक्तानी दिन निर्देशन गरेको छु । यहाँ डिडिसीको मात्रै होइन यसको भन्दा बढी प्राइभेट क्षेत्रको धेरै छ ।’

मन्त्री भुसालले तराईमा खाद्यन्न उत्पादन वृद्धिको लागिचुरे फेदीबाट पूर्वपश्चिम नहर बनाएर नदी प्रणाली जोड्नुको विकल्प नभएको बताए । उनले नदी प्रणाली जोड्न नसके तराई मधेस मरुभूमि हुने दाबी गरे ।

बुधबार, २५ पुस २०८०, १६ : ४५

प्रतिक्रिया