लुम्बिनी प्रदेशमा मत्स्य पालनको क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि,

कुन जिल्लामा कति हुन्छ उत्पादन ?

शुक्रबार, २७ पुस २०८०, ०८ : ३१

काठमाडौँ- लुम्बिनी प्रदेशमा मत्स्य पालनको क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा मत्स्य उत्पादन ४.१९ प्रतिशतले बढेको मत्स्य विकास निर्देशनालयले जनाएको छ ।


आर्थिक वर्ष २०७८/०७९ मा १३ हजार ७०६.१३ मेट्रिक टन मत्स्य उत्पादन भएकोमा गत आर्थिक वर्ष १४ हजार २८१.१३ मेट्रिक टन उत्पादन भएको छ । यस्तै मत्स्य उत्पादन हुने जलाशयको क्षेत्र पनि बढेको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २ हजार १ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएकोमा आर्थिक वर्ष २०७९/०८० मा २ हजार ८६६ हेक्टर क्षेत्रफलमा कृत्रिम रुपमा मत्स्य उत्पादन भएको प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा। प्रवेश सिंह कुँवरले रातोपाटीलाई बताए ।


कुन जिल्लामा कति उत्पादन हुन्छ माछा ?
लुम्बिनी प्रदेशका १२ जिल्लामा कृत्रिम पोखरीमा उत्पादन गरिएका माछाको विवरण मत्स्य विकास निर्देशनालयले राख्ने गरेको छ । जस अनुसार नवलपरासी जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा २२६ हेक्टरमा माछा पालन गर्दा १ हजार ८५ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष ०७९/०८० मा भने २७८ हेक्टर जलाशयमा १ हजार ३९० मेट्रिक टन माछा उत्पादन भएको छ ।

रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १८७ हेक्टर क्षेत्रफल जलाशयमा ६ हजार १७४ मेट्रिक टन माछा उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७९/०८० मा एक हजार २४१ हेक्टर जलाशयमा ६ हजार ५७७ मेट्रिक टन माछा उत्पादन भएको छ । कपिलवस्तु जिल्लामा २०७८/०७९ मा ५५२ हेक्टर जलाशयमा २ हजार ७०८ मेट्रिक टन माछा उत्पादन भएकोमा पछिल्लो आर्थिक वर्षमा ५६० हेक्टरमा २ हजार ७४४ मेट्रिक टन माछा उत्पादन भएको छ ।
बर्दिया जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ४२८ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा एक हजार ९२७ मेट्रिक टन माछा उत्पादन भएको थियो । आर्थिक वर्ष ०७९/०८० मा ४३४ हेक्टर क्षेत्रफलमा २ हजार ८६ मेट्रिक टन माछा उत्पादन भएको छ ।

बाँके जिल्लामा आर्थिक वर्ष ०७८/०७९ मा २७७ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा एक हजार ३०३ मेट्रिक टन माछा उत्पादन भएकोमा आर्थिक वर्ष ०७९/०८० मा १९५ हेक्टरमा ९३६ मेट्रिक टन माछा उत्पादन भएको छ । अन्य जिल्लामा जलाशय क्षेत्र र माछा उत्पादनमा वृद्धि भए पनि बाँके जिल्लामा भने क्षेत्रफल र उत्पादन दुवै घटेको निर्देशनालयले जनाएको छ ।पाल्पा जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा १६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा ५० मेट्रिक टन माछा उत्पादन भएको थियो भने पछिल्लो वर्ष १८ हेक्टरमा ५४ मेट्रिक टन उत्पादन भएको छ ।

यस्तै दाङमा आर्थिक वर्ष २०७८/०७९ मा ९५ हेक्टरमा माछा पालन गरिएकोमा ३९९ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १०३ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा ४३२ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा गुल्मी जिल्लामा ११ हेक्टर क्षेत्रफलमा माछा पालन भएको थियो, जसमा २१ टन माछा उत्पादन भएको छ । पछिल्लो वर्ष १२ हेक्टर क्षेत्रफलमा २३ टन माछा उत्पादन भएको छ ।

पहाडी जिल्ला अर्घाखाँचीमा आर्थिक वर्ष ०७८/७९ र आर्थिक वर्ष ०७९/०८० मा माछा पालनको क्षेत्रफल र उत्पादन दुवै बरावर छ । यहाँ दुवै आर्थिक वर्ष ६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १२ मेट्रिक टन उत्पादन भएको छ । यसैगरी प्युठान जिल्लामा आर्थिक वर्ष ०७८/०७९ मा १० हेक्टरमा क्षेत्रफलमा माछा पालन गर्दा १६ मेट्रिक टन उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष १२ हेक्टरमा १८ मेट्रिक टन माछा उत्पादन भएको छ । रोल्पा जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ४ हेक्टर क्षेत्रफलमा ५ मेट्रिकटन माछा उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष ५ हेक्टरमा ६ मेट्रिक टन माछा उत्पादन भएकोछ ।

पूर्वी रुकुम जिल्लामा पोखरी निर्माण गरेर माछा पालन गरेको तथ्याङ्क भने अहिलेसम्म नरहेको निर्देशनालयले जनाएको छ ।

शुक्रबार, २७ पुस २०८०, ०८ : ३१

प्रतिक्रिया