काठमाडौँ - कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौँ मेडिकल कलेज(केएमसी) मा स्वास्थ्य सेवा लिन पाउने भएका छन् ।सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौँ मेडिकल कलेजलाई पनि समावेश गरेको हो ।कोषले सूचना प्रकाशित गर्दै आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरुको छनौट गरेको छ । जसमा काठमाडौँ मेडिकल कलेज समेत परेको छ।केएमसीका जनरल मेनेजर नारायण दाहालले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले केएमसीमा सहज रुपमा स्वास्थ्य सेवा लिन सक्ने बताए । कोषले जनाए अनुसारको कागजात लिएर केएमसीमा उपलब्ध जुनसुकै स्वास्थ्य सेवाको लाभ लिन सकिनेछ ।
कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष १ लाख रुपैयाँ तथा घातक रोगको हकमा सेवा अवधिभर १० लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएकोमा फागुन १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालको सूची तयार पारेको छ ।कोषले हाल साविकमा सञ्चयकर्तालाई मात्र स्वास्थ्य उपचार सुविधा दिएकोमा फागुन १ गतेदेखि लागू हुनेगरी पतिर पत्नीलाई समेत समावेश गरेको छ ।सूची अनुसार कोषको स्वास्थ्य उपचार योजना अन्तरगतको सेवा पाउने अस्पतालहरुमा केएमसीसँगै बागमती प्रदेशमा ६० वटा, कोशी प्रदेशमा नोबेल मेडिकल कलेजसहित १६ वटा, मधेश प्रदेशमा नेशनल मेडिकल कलेजसहित नौ वटा छन् ।
त्यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित १५ वटा, लुम्विनी प्रदेशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित आठ वटा कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालसहित तीन वटा छन् ।
प्रतिक्रिया