विदेशी मुद्राको सटही रोकिँदा जटिल मोडमा इन्टरनेट सेवा उद्योग

३ महिना अगाडि

काठमाडौँ - कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले विदेशी मुद्राको सटही रोकिँदा नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा आएको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले सो बताएको हो ।भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बद्ध व्यवसायी मारमा परेका महासंघले बताएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवा प्रदायकले भुक्तानी गर्न नपाएको महासंघको गुनासो छ । यसको प्रत्यक्ष असर आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने बताइएको छ ।मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुने समेत महासंघको भनाई छ ।

‘सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारलेनै निकासमा दिनुपर्छ,’ क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले भने ।‘नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आईसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन सक्दैन,’ क्यान महासंघका महासचिव चिरन्जिबी अधिकारी भने ।

नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यवसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै रहेको बताउँदै क्यान महासंघले सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको छ

३ महिना अगाडि

प्रतिक्रिया