काठमाडौँ - पछिल्लो समय नेपाली विद्यार्थी विदेश जाने लहर नै चलेको छ । उच्च शिक्षा तथा रोजगारीको अवसरमा विद्यार्थी दैनिक सयौँको सङ्ख्यामा विदेशि रहेका हुन्छन् ।विदेशमा शिक्षा आर्जन गरेका विद्यार्थीले स्वदेश र विदेश दुवैतिर रोजगारीका राम्रा अवसर पाउँछन् । यस्तै कारणले अभिभावक र विद्यार्थी उच्च शिक्षा आर्जनका लागि विदेश जाने निष्कर्षमा पुग्छन् । आजभोलि त कक्षा १०मा अध्ययनरत विद्यार्थीलाई समेत भविष्यमा के गर्ने विचार छ भन्ने प्रश्न गर्दा सिधा कक्षा १२ त सकियोस् त्यसपछि कुन देश जाने विचार गर्नुपर्छ भन्ने जवाफ आउँछ । अहिले देशका युवा जुन रफ्तारले बाहिरिरहेका छन्, त्यसको सिधा असर भावी पुस्तामा परिसकेको छ । देशमा बसेर केही गर्न सकिन्न भने मनोसायले सानो बच्चादेखि युवा वर्गलाई घेरेको छ । अहिले त देशमै बसेर केही गर्छु, आफू बन्छु र आफ्नो मुलुक निमार्णमा सकेजति योगदान पुर्याउछु भनेर आफ्नो उज्ज्वल भविष्यको परिकल्पना आफ्नै जन्मथलोमा देख्ने युवा विरलै पाइन्छन् । घरपरिवारदेखि आफन्त सबैको रोजाइ नै वैदेशिक शिक्षा भैसकेको छ । देश र युवाको यस्तो मनोसायबीच उदाहरणीय बन्न सफल सच्चा देशप्रेमी युवति हुन : सविना
ललितपुर,एकान्तकुना बासी २१ वर्षीय सविना अहिले स्नातक तहमा अध्यान गर्दै छिन् । एकान्तकुनामै उनले आफ्नो चटपटे व्यवसाय थालेकी छिन् । उनी भन्छिन्ः मेरा उमेरका साथीहरू विदेश जान पासपोर्ट बनाउँदै छन्, म नेपालमा चटपटे बनाउँदै छु । उनीलाई आफ्ना अभिभावकले समेत जति पैसा लाग्छ हामी दिन्छौँ विदेश जाऊ भन्नुहुन्छ । तर अर्काको देशमा भन्दा आफ्नै देशमा बसेर केही गर्ने , परिश्रम गरे पनि आफ्नै मुलुकमा गर्ने सोचकी सविनाले अरु कसैको कुरा नसुनी मुलुकमै केही गर्ने दृण संकल्प लिई आफ्नै व्यवसाय थालेकी छिन् ।
कस्तो छ उनको जीवनशैली ?
उनको जीवनशैली एकदमै व्यस्त रहने गरेको छ । उनी बिहान सबेरै उठेर कलेज जाने गरेकी छिन् । कलेजको पढाई सकिनासाथ उनी आफ्नो कर्मथलोमा पुग्छिन् । बिहानको खाना उनले पसलमै खाने गरेकी छिन् । जाडो महिनामा बेलुकी ७ बजेसम्म र गर्मीमा ८ बजेसम्म पसलमा बस्ने गरेकी छिन् । सुरुमा काम गर्न अप्ठ्यारो लागेको तर ठुलो केही गर्न लगानी नभएकै कारण सानै भएनि निरन्तरता दिएर अगाडी बढ्छु भनी व्यवसाय थालेको, उनी बताउँछिन् । आफ्नै उमेर समूहसँग जोडिन मन भएको र पानीपुरी चटपट आफ्नो उमेर समुदायले बढी रुचाउने बुझेपछि उनले थोरै लगानीमा उपयुक्त व्यवसाय चटपट पानी पुरी रहेको बुझेर यही व्यवसायलाई अगाडि बढाउने सोचेको उनले बताइन् ।
उनको परिवार एकान्तकुनाको स्थानीय बासिन्दा हुन् । स्थानीय बासिन्दा भएकै कारण मान सम्मानको कुराले गर्दा उनको बुबा उनले सुरुवात गरेको व्यवसायमा उनको पक्षमा हुनुहुन्न थियो । तर पनि उनले हार मानिनन् । आफ्नै सिप, ज्ञान र अनुभव बढ्छ भन्ने सोचलाई निरन्तरता दिएर उनले कामलाई अगाडी बढाइरहिन् । चटपटको स्वाद मिठो भएकै कारण उनको व्यवसाय फस्टाएको छ । सामाजिक सञ्जाल टिकटकमा आफ्नो व्यवसाय दर्साउदै राखिएको भिडियो भाइरल हुन पुगेपछि झन् कामप्रति लगन अनि मिहिनेत गर्ने जाँगर बढेको उनी बताउँछिन् । अहिले उक्त व्यवसायकै आम्दानीबाट उनले आफ्नो आधा कलेजको शुल्क अनि आफ्नो सम्पूर्ण व्यक्तिगत खर्च निकाल्ने गरेकी छिन् । अहिले उनको बुबाले पनि नगर भनेर रोकटोक केही गर्नु हुन्न गरिरहेकी छे गर भनेर छोड्दिनु भएको उनले बताइन् ।
आफ्नो व्यवसायमा रमाइ रहेकी उनी भन्छिन् , अवसरले हामीलाई खाज्दैन् हामी आफैले अवसर खोज्ने हो । यदि उनको जस्तो सोच र लगन हरेक युवासँग हुने हो भने कोही विदेशीनु पर्ने थिएन । अहिलेका प्रायजसो युवा वर्गहरु स्वइच्छाले भन्दा पनि साथी भाईको लहलहैमा आएर विदेशीने क्रम बढेको उनको मान्यता छ । उनी भन्छिन् , कोही एक जनाले बाहिर गएर सफलता हासिल गर्यो भन्दैमा सबै सफल नहुन सक्छन् तर पनि मानिसहरू त्यहीँ भिडलाई पछ्याउछन्। सफलता मिल्छ मिल्दैन थाहा छैन तर म कुनै न कनै लेबलमा पुग्छु र मिहिनेत गर्न भने कहिले छोड्दिन भन्ने ढृण्ण संकलप लिएर उनी अघि बढिरहेकी छिन् ।
कयौं नेपाली युवाहरु रहरले मात्र नभएर बाध्यता अनि जिम्मेवारीले थिचिएको काँध उठाउने लक्ष्यले नचाहादा नचाहादै पनि आफ्नो टाउकोमा लाखौँ श्रणको भारी बोकेर जे जस्तो चुनौतिको पनि सामना गर्छु, जस्तो सुकै परिस्थितिमा पनि हार खादिन्, रातदिन नभनि परिश्रम गर्छु भनेर आफ्नो सफल जीवनको परिकल्पना गर्दै विदेशीने गर्दछन् । तर जुन लगन जुन हिम्मत युवाहरुले विदेशिनको लागी गर्छन् त्यहि आट, हिम्मतले नेपालमै केही गर्छु केही बन्छु भन्ने हो भने देश आफैँ बन्ने थियो । हरेक नेपालिले सानै भएनि केही आफ्नै मुलुकमा गर्ने लक्ष्य बोकेर अगाडि बढ्न आवश्यक छ । साच्चैँ नै सविना हरेक युवाको लागी उदाहरणीय बन्न सफल भएकी छिन् । - शोभा धिताल
प्रतिक्रिया