समृद्धिको मार्गचित्र तय गर्न वृहत् खजुरा सम्मेलन

४ बर्ष अगाडि

बाँकेको खजुरा गाउँपालिकाले विकासमा जनसहभागिता जुटाउन वृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ ।

सम्मेलनबाट खजुरा गाउँपालिकाले आफ्नो नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गचित्र तय गर्नेछ । बुधवारबाट शुरु भएको वृहत् खजुरा सम्मेलनबाट विकासमा सबै खजुरेलीको साझेदारी बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । 

“समृद्ध खजुराको सपना पूरा गर्न सम्मेलन कोशेढुङ्गा सावित हुनेछ”, उनले भने, “समृद्ध खजुरा, खुशी खजुरेली जनताको अभियानलाई सफल बनाउन स्वदेश र विदेशमा रहेका खजुरेलीलाई समेटेर वृहत् सम्मेलन गरिएको छ ।” 

सम्मेलनमा कामको सिलसिलामा बाहिर बसेका खजुराका २५० जनाको सहभागिता रहेको सम्मेलन आयोजक समितिका संयोजक भक्तबहादुर केसीले जानकारी दिए । उनका अनुसार, सम्मेलनलाई फलदायी बनाउन विषयविज्ञले आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैङ्गिक र महिला सशक्तीकरणमा खजुरा, खजुरामा कृषि ः समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गचित्र, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकूद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । 

खजुराको समृद्धिको आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्ने सहज वातावरण बनाउन, सहभागितामूलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न, खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गचित्र तय गर्न, दिगो र समतामूलक विकासको आयाम, प्रवद्र्धनका अभ्यास र यसको प्रभावबारे सिकाइ आदान–प्रदान गर्न र खजुरा क्षेत्रका विषयविज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको अध्यक्ष कक्षपतिको भनाइ छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया