चार सामुदायिक वनलाई समेटेर राइनोपार्क बनाइँदै

४ बर्ष अगाडि

पश्चिम चितवनका चार मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनोपार्कका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ३ को एक जिल्ला एक पर्यटकीय गन्तव्यमा समेटिएको मेघौली पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।

राप्ती र नारायणी नदीको सङ्गमस्थलसँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मेघौलीमा दुर्लभ वन्यजन्तु बाघ र गैँडा अवलोकनका लागि पर्यटक आउने गर्दछन् । हात्ती चढेर दुर्लभ वन्यजन्तु अवलोकनका लागि बढी पर्यटक आउने गर्दछन् । क्षेत्र नं ३ का प्रदेशसभा सदस्य कृष्ण भुर्तेलका अनुसार प्रदेशसभाले जिल्लामा मेघौलीलाई पर्यटकीय गन्तव्यका रुपमा छानेको छ ।

यससँगै यहाँको पर्यटकीय प्रवद्र्धनका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट प्राप्त हुने उहाँले जानकारी दिए । भुर्तेलका अनुसार मेघौलीको सदाभार, मालिका, राधाकृष्ण र हरियाली राप्ती तथा वेतरी मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनोपार्कका रूपमा विकास गर्न लागिएको छ । 

मेघौली विमानस्थल नजिकै राइनोपार्क क्षेत्रको प्रवेशद्वारमा ३० फिट अग्लो गैँडाको मूर्ति बनाइँदैछ । मूर्तिभित्र दुई तला हुनेछन् । तिनमा पर्यटन सूचना केन्द्र र सङ्ग्रहालय रहने उहाँले जानकारी दिनुभयो । यसै महिनाको ३० गते शिलान्याश गरेर काम अघि बढाइँदैछ । रु दुई करोड ५० लाख खर्च गरी मूर्ति र भित्री संरचना निर्माण गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार राइनोपार्क झण्डै ५५० बिघा क्षेत्रमा फैलनेछ । पार्कमा थारू सङ्ग्राहालय, जैविक विविधता सूचना केन्द्र, वन्यजन्तु उद्वार केन्द्र, हात्तीसार, निकुञ्ज प्रवेश टिकट घर, वेतरी खोलामा ५०० मिटरसम्मको डुङ्गा शयर, बाघ, गैँडा र चरा हेर्न दृश्यावलोकन स्तम्भ रहेका छन् । यससँगै १५ फिट अग्लो र चार फिट चौडाको क्यानोपिकवाक निर्माण गरिँदैछ । सुवेदीका अनुसार फलामको फ्रेममाथि काठ राखेर बार्दलीजस्तो बनाएर क्यानोपिकवाक निर्माण गरिनेछ ।

झण्डै एक किलोमिटर लामो त्यसै ठाउँमा हिँडेर पर्यटकले दुर्लभ वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । सोका कारण वन्यजन्तुबाट कुनै दुर्घटना नहुने र पर्यटक रमाउने अपेक्षा गरिएको छ । सुवेदीले यो नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएर पनि प्रचारप्रसारको अभावमा मेघौली पछिपरेको छ । मेघौलीमा ठूला–साना १० पर्यटकीय होटलमा २७३ को क्षमता रहेको छ ।

सुवेदीका अनुसार गत वर्षको तथ्याङ्कलाई हेर्दा मेघौलीमा वार्षिक ११ हजार विदेशी र सात हजार हाराहारी नेपाली पर्यटक आउने गरेका छन् । निकुञ्जभित्रको होटल टाइगरटप्स बन्द भएसँगै बाहिरको हात्तीपोलो खेल पनि बन्द भएको छ । यससँगै मेघौली थप ओझेलमा परेको हो । पछिल्लो समय मेघौलीमा नयाँपन दिनका लागि स्थानीयवासी लागिपरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया