सामाजिक सुरक्षा कोष विरुद्ध ६५ हजार कर्मचारीको ‘प्रश्न’ आन्दोलन

४ बर्ष अगाडि

वित्तीय क्षेत्रका ६५ हजार कर्मचारीहरुले सामाजिक सुरक्षा कोष विरुद्ध ‘प्रश्न’ आन्दोलन गर्ने भएका छन् । 

कोषले कर्मचारीलाई खाइपाइ आएको सेवा सुविधा घट्नेगरि कोषमा अनिवार्य सूचीकृत हुन दवाव दिएपछि उनीहरुले आन्दोलन गर्ने भएका हुन् । 

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) को नेतृत्वमा वित्तीय क्षेत्रमा काम गर्ने ६५ हजार कर्मचारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन चाहन्छन कि चाहँदैनन र सहभागी हुनका लागि सामाजिक सुरक्षा कोषमा के सुधार गर्नुपर्छ भन्ने विषयमा प्रश्नको जवाफ खोज्ने कार्यक्रम छ । 

कार्यक्रम अन्तर्गत देशभर फियानको सञ्जाल रहेका ४५ वटा भन्दा बढी वित्तीय संस्था र सञ्जाल नरहेका संस्थाहरुमा पनि अन्य कर्मचारी संगठन र व्यवस्थापनसँग समन्वय गरी प्रश्नको जवाफ भराइने छ ।  

त्यसरी लिइने धारणाका आधारलाई लिएर व्यापक बहस कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमको निष्कर्षका आधारमा श्रम मन्त्रालय, अर्थ मन्त्रालय लगायतसँग ‘वार्ता’ गर्ने फियनका अध्यक्ष पदमराज रेग्मीले जानकारी दिए । 

उनका अनुसार बैंकिङ तथा वित्तीय क्षेत्र अन्य व्यवसायिक क्षेत्रभन्दा बढी संवेदनशील भएका कारण दैनिक कारोबार र गतिविधिहरुलाई असर नगर्ने तर सरकारलाई नैतिक दवाव दिनेगरी यस्तो आन्दोलन तय गरिएको हो । 
‘हामी यसरी आन्दोलन गर्दैछौं, जसले वित्तीय क्षेत्रको विश्वसनीयतामा आँच पनि नआओस्, सरकारले हाम्रो माग कार्यान्वयन गर्न दबाब पनि महशुस गरोस्,’ उनले भने । 

सरकारको निर्देशनमा राष्ट्र बैंकले एक महिना अघि सबै बैंक तथा वित्तीय संस्थाहरुलाई कोषमा अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएपछि त्यसको व्यापक विरोध भएको थियो । 

त्यसविरुद्ध नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ र फियनले गभर्नरलाई पत्र लेखेका थिए । अब भने सो व्यवस्थालाई लिएर व्यापक जनसमर्थन जुटाउने तयारीमा लागिएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया