बीवाइडीको स्पोर्टी सेडान कार सिलको नेपालमा बिक्री सुरु

३ महिना अगाडि

काठमाडौं- बीवाइडीले स्पोर्टी सेडान कार सिलको नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले हिजो शुक्रबार आधिकारीक रुपमा बिक्री सुरु गरेको हो । बीवाइडीको सबैभन्दा प्रिमियम मोडल सिल विभिन्न तीन भेरियन्टमा सार्वजनिक भएको हो । सिलको डाइनामिक, प्रिमियम र पर्फमेन्स भेरियन्ट देखाएको हो । यी तीनवटै भेरियन्टमा ठूलै अन्तर पाउन सकिन्छ ।

सिल मोडल निकै आकर्षक र प्रिमियम फिचर भएको सेडान कार हो । निकै लामो र फराकिलो बनोटको कारण यसले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । सिलको सबैभन्दा सस्तो भेरियन्ट डाइनामिक हो । यसको मूल्य १ करोड ५ लाख रुपैयाँ रहेको छ । यसमा ६१.४४ किलोवाट आवरको ब्लेड ब्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गर्दा ४६० किलोमिटरसम्म गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा रहेको मोटरको सहायताले सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केबल ७.५ सेकेन्ड मात्रै लगाउने छ ।

रियर ह्वील ड्राइभ अप्सनमा आउने डाइनामिक भेरियन्टमा १८ इन्चको अलोय ह्वील, १५।६ इन्चको रोटेड टचस्कृन जस्ता फिचर पाउन सकिन्छ । यसमा बुट स्पेश भने ४५० लिटर क्षमताको छ ।

त्यसैगरी सिलको दोस्रो भेरियन्ट प्रिमियम हो । यसको मूल्य १ करोड ३९ लाख रुपैयाँ तोकिएको छ । यसमा ८२.५६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । यसलाई सिंगल चार्ज गर्दा ५७० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा २३० किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान भएको छ ।

कम्पनीले यसमा डाइनामिक भेरियन्टकोभन्दा १ इन्च ठूलो ह्वील दिएको छ । यसमा रहेको १९ इन्चको अलोय ह्वीलले यसको प्रिमियमनेसलाई थप बलियो बनाएको छ । डाइनामिक भेरियन्टभन्दा केहि बढी कर्भ वेट भएको प्रिमियम भेरियन्ट पनि रियर ह्वील ड्राइभमा उपलब्ध हुनेछ । यसमा १५.६ इन्चको रोटेड टचस्कृन पाउन सकिन्छ ।

बीवाइडी सिलको टप भेरियन्ट पर्फमेन्स हो । नामले नै यसको पावरलाई झल्काउँछ । कम्पनीले यो भेरियन्टलाई अल ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । कम्पनीले यसको मूल्य १ करोड ८५ लाख रुपैयाँ तोकिएको हो । यसमा ३९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । नेपालमा उपलब्ध सबैभन्दा पावरफुल इलेक्ट्रीक कार बन्ने देखिन्छ । यसले केबल ३.८ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्नेछ । अल ह्वील ड्राइभ र ठूलो मोटर भएको कारण यसमा रहेको ८२.५६ किलोवाट आवरको ब्लेड ब्याट्रीलाई फुल चार्ज गरेर चलाउँदा ५२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

३ महिना अगाडि

प्रतिक्रिया