हिरोको आधिकारिक बिक्रेतामा चौधरी ग्रुप

३ महिना अगाडि

काठमाडौं- भारतीय अटोमोबाइल ब्राण्ड हिरोको आधिकारिक बिक्रेतामा चौधरी ग्रुप नियुक्त भएको छ ।

हिरो मोटोकर्पले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपलाई नियुक्त गरेको जनाएको हो । यो सँगै अब विगत तीन दशकदेखि बिक्रेताको रुपमा रहँदै आएको ज्योति समूहको हातबाट हिरोको व्यापार खोसिएको छ ।

ज्योति समूहले नेसनल जनरल मार्केटिङ (एनजीएम) मार्फत हिरोका मोटरसाइकल र स्कुटरहरू विगत तीन दशकदेखि नेपालमा बिक्रीवितरण गर्दै आएको थियो । अब नेपालमा हिरोका मोटरसाइकल र स्कुटरको बिक्री तथा आयात सीजी ग्रुपअन्तर्गतको सीजी मोटर्सले गर्ने छ ।

यस्तै, सीजी मोटर्सले पनि आज विज्ञप्ति जारी गरी हिरोको आधिकारिक बिक्रेता बनेको स्पष्ट पारेको छ । हिरोले तीन दशक लामो यात्रा गरेको ज्योति समूहको एनजीएमसँग आधिकारिक बिक्रेता नवीकरण नगरीकन सीजी मोटर्सलाई नयाँ बिक्रेता तोकेको हो ।

सीजी मोटर्स र हिरो मोटोकर्पबीचको सम्झौतामा नेपालमै एसेम्बल गर्ने र त्यसका लागि हरित एसेम्बलिङ प्लान्ट (ग्रीनफिल्ड सुविधा) सेटअप गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै वार्षिक ७५ हजार युनिट उत्पादन क्षमताको प्लान्ट नवलपुरमा स्थापना गरिने घोषणा समेत विज्ञप्तिमार्फत गरिएको छ ।


उक्त प्लान्टबाट यसै वर्ष (सन् २०२४) देखि नै उत्पादन सुरू गर्ने समेत विज्ञप्तिमा जनाइएको छ । चौधरी ग्रुपले हिरोको बिक्रेता पाएसँगै अब नेपाली बजारमा विद्युती स्कुटर भिदा भित्र्याउने सम्झौता पनि भएको विज्ञप्तिमा उल्लेख छ ।

३ महिना अगाडि

प्रतिक्रिया