काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौँ सभामा सम्माननीय प्रधानमन्त्री एवं कुलपति श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाटन अस्पतालको सुदृढ जगमा स्थापित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धानहरू गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान सह्रानीय रहेको बताएका छन् ।
कुलपति समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रौँ सभामा राखेको भनाईको पुरा अंश
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपतिज्यू,
राष्ट्रिय योजना आयोगका माननीय सदस्यज्यू,
ललितपुर महानगरपालिकाका प्रमुखज्यू,
विभिन्न प्रतिष्ठानका उपकुलपतिज्यूहरू,
सम्पूर्ण सभा सदस्यज्यूहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू ।
सबैभन्दा पहिला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौं सभामा उपस्थित भई प्रतिष्ठानबारे जानकारी लिने एवं प्रतिष्ठानको नीति र निर्णयमा दिशानिर्देश गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्दछु ।
पाटन अस्पतालको सुदृढ जगमा स्थापित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धानहरू गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान सह्रानीय छ । प्रतिष्ठानलाई आजको अवस्थासम्म ल्याउन सहयोग पु¥याउने सबै संघसंस्था, पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा धन्यवाद व्यक्त गर्दछु ।
आम नागरिक स्वस्थ नभइकन नेपालको विकास र समृद्धि सम्भव छैन । यसका लागि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको पहुँच पुग्ने गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा आजको आवश्यकता हो । स्वस्थ र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ ।
प्रतिष्ठानका उपकुलपतिले आज पेश गर्नुभएको प्रतिष्ठानको वार्षिक विवरण सुन्दा प्रतिष्ठानले आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको प्रतीत हुन्छ । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गई समुदायमा आधारित सेवा प्रवाह गर्नु अनुकरणीय पहल हो । प्रतिष्ठानलाई यस कार्यक्रममा अन्य मिल्दोजुल्दो कार्यक्रमहरूलाई समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न आग्रह गर्दछु । साथै अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाहरूबाट पनि यस प्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।
यस प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लाने कुरामा म विश्वस्त छु । राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु । यस कार्यका लागि यहाँ उपस्थित ललितपुर महानगरपालिका प्रमुख तथा प्रतिष्ठान परिवारमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।
अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्नो सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेकोमा मलाई खुसी लागेको छ । विश्वव्यापी महामारीको रूपमा पैmलिएको कोभिड १९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पु¥याएको यस प्रतिष्ठानले डेंगुको प्रकोप पैmलिएको बेला छुट्टै आकस्मिक सेवा सञ्चालन गरी सेवा दिएको अत्यन्त प्रशंसनीय छ । साथै, स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक छ ।
स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ चुनौतीहरू देखा परिरहेका छन् । भविष्यमा देखापर्ने त्यस्ता चुनौतीहरूको व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्न र अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिने विश्वास लिएको छु । सुलभ र गुणस्तरयुक्त शिक्षा तथा स्वास्थ्य सेवा प्रवाह गरी आर्जित आयबाट आत्मनिर्भर संस्थाको रूपमा सञ्चालनमा रहेको यस प्रतिष्ठानको भौतिक पूर्वाधार विकासका लागि प्रतिष्ठानले तयार गरेको गुरूयोजना अनुरूप आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्न नेपाल सरकारका सम्बन्धित सबै निकायहरुलाई निर्देशित गर्दछु । विश्वास छ– सम्बन्धित सबैबाट पनि आवश्यक सहयोग हुने नै छ ।
नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भमा ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टर लगायतका स्वास्थ्यकर्मीहरू उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो छ । यस तथ्यलाई मध्यनजर गरी मानव विकास परिसूचकाङ्कमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकहरूलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु ।
सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भए मात्र सर्वसाधारण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड १९ महामारीले स्पष्ट पारिसकेको छ । यस कुरालाई हृदयङ्गम गरी नेपाल सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको छ । दुर्गममा रहेका सार्वजनिक स्वास्थ्य संस्थाहरूको गुणस्तर र क्षमता विकास गर्न प्रतिष्ठानले गम्भीर पहल लिने विश्वास लिएको छु ।
अन्तमा, प्रतिष्ठानको बाह्रौँ बैठकले तर्जुमा गरेका महत्वपूर्ण नीति र लिइएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनको निर्देशनसहित यो बैठक यहीँ समापन भएको घोषणा गर्दछु । धन्यवाद।
प्रतिक्रिया