‘पोखरा मोटो–इन्ड्युरो क्रस च्याम्पियनसिप २०२४’ हुने

आइतबार, १४ माघ २०८०, १६ : ३४

काठमाडौँ- पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्ड्युरो क्रस च्याम्पियनसिप २०२४’ हुने भएको छ ।

विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा हुने सो च्याम्पियनसिपमा करिब ३० जना खेलाडीले भाग लिने छन् । सो च्याम्पियनसिप नेपालमै पहिलो पल्ट हुन लागेको आयोजकको दाबी छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जगत धौलीले भर्खरै जन्मिएको क्लबले पहिलो पल्ट यति बृहत् प्रतियोगिता गर्न लागेको जनाउँदै सबैसँग सहयोगको अपेक्षा गरे । उनले वडा कार्यालयदेखि सबैसँग अनुमति लिएर आयोजित साहसिक प्रतियोगिताले यहाँको खेल पर्यटनको विकासमा पनि सहयोग पुग्ने विश्वास लिए । राष्ट्रियस्तरको यो प्रतियोगितामा सुरक्षा चुनौती महत्वपूर्ण रहेकोमा आफूहरु त्यसतर्फ सचेत रहेको उनको भनाइ छ । प्रतियोगिताका लागि खेलाडीको दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिखेलाडी १७ हजार रुपैयाँ शुल्क लाग्नेछ । खुला र महिला गरी दुई इभेन्टमा खेलाइने प्रतियोगितामा पहिलो दिन खेलाडी छनोट हुने र भोलिपल्ट प्रतियोगिता हुनेछ । खुला र महिला दुवैतर्फ विजेताले जनही १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार प्राप्त गर्ने छ । साथै चौथो र पाँचौंलाई गिफ्ट ह्याम्पर दिइनेछ ।

क्लब अध्यक्ष सोनिक क्षेत्रीले कतिपय युवा रोजगारी अभावमा विदेशिनुपरेको बताउँदै नेपालमै केही नयाँ काम गरेर युवालाई आकर्षित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जनाउँछन् । उनका अनुसार पोखरा राइडर्स क्लब साइक्लिष्टहरुको संस्था हो । साइक्लिष्टहरुको हकहितसहित संस्थामार्फत विभिन्न गतिविधि संचालन गर्ने हेतुले साइक्लिष्टहरु हालै एकजुट भएका हुन् ।

पोखरालाई पर्यटनको राजधानी घोषणा तयारी रहँदा यो प्रतियोगिताले पनि टेवा मिल्ने क्लब अध्यक्ष क्षेत्रीले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले साहसिक खेलका कारण पोखराको खेल र पर्यटन विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्दै मिडियाको साथै सधैं रहिरहने बताए ।

सो च्याम्पियनसिपमा करिब २९ लाख ५३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, माउन्टेन स्पोर्ट्स फेडेरेसन–नेपाल, राखेप, नेपाल अटोमोबाइल्स एसोसिएसन ९नासा० पोखरा, विभिन्न संघसंस्था लगायत सहयोगी छन्

आइतबार, १४ माघ २०८०, १६ : ३४

प्रतिक्रिया