कपुरकोटमा तरकारीबाट भित्रियो साढे २६ करोड

२ महिना अगाडि

काठमाडौं– साविक राप्ती अञ्चलको सल्यान जिल्ला तरकारी खेतीमा अग्रस्थानमा आएको छ । जिल्लाको कपुरकोट क्षेत्रबाट एकै सिजनमा साढे २६ करोडको ताजा तरकारी बिक्री भएको छ । बेमौसमी तरकारीका लागि प्रसिद्ध जिल्लाको कपुरकोट गाउँपालिकाका विभिन्न क्षेत्रबाट असारदेखि मंसिरसम्मको अवधिमा कृषकले ४८ लाख ५७ हजार दुई सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्री गरेका हुन् । जसबाट २६ करोड ६४ लाख ४९ हजार आठ सय ६१ रुपैयाँ कृषकले हात पारेका छन् ।


पछिल्लो समय सल्यानका कृषकहरु तरकारी खेतीबाट आमदानी गरेसँगै निकै उत्साहित भएका छन् । गएको आर्थिक वर्ष २०७९÷८० को झण्डै छ महिनामा यसक्षेत्रबाट १७ करोड २३ लाख १६ हजार पाँच सय ९० रुपैयाँको ४२ लाख नौ हजार ९२ किलो ताजा तरकारी, फलफूल बन्दागोपी, भेडेखुर्सानी र अदुवा बिक्री भएको थियो । यस वर्ष गत वर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मुल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ । जिल्लाकै सबैभन्दा ठूलो कपुरकोटको तरकारी बजार असारदेखि मंसिरसम्म लाग्छ । कृषकले उत्पादन गरेका टमाटर, काउली, सिमी, फर्सी, आलुलगायतका बेमौसमी तरकारीले यसपटक राम्रो बजार मुल्य पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो । कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ ।


 

२ महिना अगाडि

प्रतिक्रिया