काठमाडौं : यस साताभरमा सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो हप्ताको तुलनामा यस साता सुन तोलामा एक हजार ५०० रुपैयाँले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।
आइतबार प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको सुनको मूल्य साताको दोस्रो दिन अर्थात् सोमबारदेखि कारोबार भएको दिनसम्म बढेको पार्ईएको छ । सुनको मूल्य कारोबारमा साताको अन्तिम दिनसम्म बढेर प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ।
नेपाली बजारमा यस साता चाँदीको मूल्यमा समेत सामान्य वृद्धि भएको छ । साताभरमा चाँदी तोलामा १५ रुपैयाँले महँगिएको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँ रहेको थियो । त्यसपछि, चाँदीको मूल्य सोमबार र मङ्गलवार बढेको थियो ।
त्यसै गरी मङ्गलवार प्रतितोला एक हजार ४२० रुपैयाँ पुगेको चाँदीको भाउ बिहीबार भने घटेर प्रतितोला एक हजार ४१० रुपैयाँमा झरेको थियो । शुक्रवारका दिन भने चाँदीको भाउ बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको छ।
त्यसैगरी यससाता विश्व बजारमा सुनको मूल्यमा वृद्धि भएकोले नेपाली सुन बजारमा सुन महँगिएको हो । साताको पहिलो दिन देखि साता भर नै निरन्तर मूल्य बढेको छ । यो वर्ष मूल्यले थप नयाँ उचाइ लिन सक्ने विश्लेषकहरूको अनुमान छ ।

प्रतिक्रिया