काठमाडौं । पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा पुर्व नम्बर एक प्रो भुवन ३-अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन। एमेच्योर खेलाडी सदभाव आचार्य २-अण्डर ६७ मा खेल सकाउँदै दोस्रो स्थानमा रहे। रवि खड्का र निरज तामाङले इभन-पार ६९ को स्कोरमा तश्रो स्थान बाँडे।
१- ओभर ७० सहित धन बहादुर थापा पाँचौ स्थानमा रहँदा दीपक आचार्य र टंक बहादुर कार्की २-ओभर ७१ सहित संयुक्त रूपमा छैटौँ स्थानमा रहे। बलभद्र राई, भुवन कुमार रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३-ओभर ७२ को स्कोरमा संयुक्त रूपमा आठौँ स्थानमा रहेका छन्।
लिडर भुवनले दोस्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाईनमा १-अण्डर ३३ मा पुरा गरे। यस पछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाईन २-अण्डर ३५ मा सकाए। भुवनले ११औँ, १५औँ र १८औँ होलमा एक- एक सट बचाउँदा १२औँ होलमा बोगीको सामना गरे।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि विजेता सदभावले फ्रन्ट नाइन १-अण्डर ३३ र ब्याक नाइन १-अण्डर ३४ मा सकाए। उनले तेश्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यस पछि १२औँ होलमा बोगी खेपेका सदभावले १३औँ र १५औँ होलमा बर्डी प्रहार गरे।
पूर्व नम्बर एक प्रो रविले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए र ब्याक नाईनमा इभन-पार ३५ खेले। चौंथो र आठौँ होलमा बर्डी प्रहार गरेका रविले छैटौँ होलमा डबल बोगी खेपे। यस पछि १०औँ होलमा बर्डी प्रहार गरे भने रविले १८औँ होलमा एक सट खेर फाले।
निरजले फ्रन्ट नाईनमा बोगी रहित १-अण्डर ३३ खेल्दा ब्याक नाईनमा १- ओभर ३६ खेले। उनले तेश्रो होलमा बर्डी प्रहार गरे। यसपछि निरजले १३औँ र १५औँ होलमा बोगी खेपे भने १४औँ होलमा एक सट जोगाए। तीन दिन सम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ। काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको छ।
डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई र सुबाश तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेको हुनाले यस प्रतियोगितामा सहभागीता जनाएका छैनन। गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएका हुन। पूर्व नम्बर एक एमेच्योर गल्फर सुबाशले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालीफाईङ्ग स्कूलमा दोस्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका हुन।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउँनेछन। एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम दिन प्रतिस्पर्धा गर्न पाउनेछन। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। चौंथो र पाँचौं स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन्। साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने छन्।
प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत जारी सिजनमा कुल आठ प्रतियोगिता रहेका छन्। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ।
प्रतिक्रिया