पोकर रनको नयाँ संस्करण आगामी चैत ३० देखि शुरु हुने

२ महिना अगाडि

काठमाडौं– पोकर रनको नयाँ संस्करण आगामी अप्रिल १२ अर्थात चैत ३० देखि शुरु हुने भएको छ । काठमाडौंबाट रोयल इन्फिल्ड लगायतका विभिन्न मोटरसाइकल राइडर सहभागी टोली पोखरा पुगेर रमाइलो गर्ने कार्यक्रम रहेको छ ।

एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सन् २००९ देखि गर्दै आएको पोकर रनको यस पटक १४ औं संस्करण हो । यस पटक २०० भन्दा बढी राइडर सहभागी हुने अपेक्षा गरिएको अयोजकले जनाएको छ ।

कार्यक्रममा रोयल इन्फिल्ड सहित ३०० सिसी माथीका क्लासिक बाइक राइडर सहभागी हुनेछन् । नेपालका विभिन्न भागका राइडरका साथै विदेशबाट समेत सहभागी हुने बताइएको छ ।

निश्चित स्थानबाट प्रारम्भ हुने पोकर रन गन्तव्यसम्म पुग्दा ५ वटा बिन्दु निर्धारण गरिएको हुन्छ । प्रत्येक विन्दुमा सहभागीले एक एकवटा तासको जस्तो पत्ती अर्थात पोकर उठाउन पाउछन् । वीचमा उनीहरु साथसाथै जान्छन् । एकै स्थानमा मोटरसाइकलको लहर देख्दा एक प्रकारको रौनकता पनि थपिन्छ । अन्तिम विन्दुसम्म पुग्दा जसको नम्बर बढी हुन्छ, उसैलाई बिजेता घोषणा गरिन्छ ।

राइडरहरुका लागि पोकर हात पार्नु यो इभेन्टको मुख्य उद्देश्य हो । तर यो भन्दा वाहेक विभिन्न तरिकाले डिजाइन गरिएको आफ्नो मोटरसाइकल शो गर्नु पनि यसको अर्को आकर्षण हो । बेस्ट इन्फिल्ड अर्थात ओरिजिनल डिजाइन र बेस्ट कस्टमाइज्ड मोटरसाइकललाई सो अवसरमा पुरस्कृत समेत गरिने छ । त्यसैगरी बेस्ट सपोर्टिङ वुमन राइडरका साथै सबैभन्दा लामो दुरी पार गरी कार्यक्रममा भाग लिन आउने राइडरलाई ‘द लङगेस्ट डिस्टेन्स राइडर’, सबैभन्दा धेरै उमेरको राइडरलाई ‘सिनियर सिटिजन्स अवार्ड’ र सबैभन्दा धेरै ब्रेकडाउन हुने मोटरसाइकललाई ‘हार्ड लक अवार्ड’ प्रदान गरिने छ ।

चैत ३० का दिन नेपाल पर्यटन बोर्डको प्रांगणबाट राइडरहरुको टोली पोखराका लागि प्रस्थान गर्नेछ । उनीहरुले पहिलो कार्ड यही संकलन गर्नेछन् । त्यसपछि दोस्रो कार्ड नौविसेमा संकलन हुनेछ भने मुग्लिनमा तेस्रो र पोखरा भन्दा ३५ किलोमिटर यता अकला हाइवेमा चौथो कार्ड संकलन हुनेछ ।अन्तिम गन्तव्य पोखरा ल्याण्डमार्क होटलमा पाँचौ कार्ड संकलन हुनेछ । त्यही नै सहभागीहरुले लाइभ ब्यान्ड, बार्बेक्यु, डिनर सहित उत्साहपूर्वक नयाँ वर्ष २०८१ मनाउने छन् । पोकर रनमा सहभागी हुन चाहने इच्छुकले आफ्नो नाम दर्ता गराउनु पर्नेछ । नयाँ वर्ष २०८१ को पहिलो दिन च्यारिटी राइड र विभिन्न पुरस्कार वितरणको कार्यक्रम सम्पन्न गरी अर्को दिन राइडरहरु आफ्नो गन्तव्यमा फर्किने छन् ।

२ महिना अगाडि

प्रतिक्रिया