प्रधानमन्त्री दाहालसँग अध्यक्ष ढकालको आग्रह 'कोरला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउनुस्'

१ महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नेपाल हुदै चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्ण रूपमा सञ्चालन गर्न माग गरिएको छ ।

बागलुङको सर्वसिद्धिधाम पञ्च कोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सहभागी प्रधानमन्त्री दाहालसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि कोराला नाका नियमित सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । 

उनले केही समयअघि भएको चीन भ्रमणका क्रममा कोरोला लगायत नेपालसँगका उत्तरी नाका सञ्चालनमा प्रधानमन्त्रीले लिएको पहलप्रति आभार व्यक्त गर्दै कोराला नाका छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेमा विश्वास व्यक्त गरेका छन् । “काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्ग आयोजनालाई समयमै सम्पन्न गर्न सकिएमा कोराला नाकालाई सक्रिय र सह रूपमा सञ्चालनमा ल्याउन सकिन्छ, यसतर्फ प्रधानमन्त्री र सरकारको विशेष ध्यान जानेछ भन्ने हाम्रो विश्वास छ”, अध्यक्ष ढकालले भने।

पञ्चकोटबाट मुक्तिनाथ हुँदै कोरोला नाका जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता राख्नका लागि प्रधानमन्त्रीसमक्ष ढकालले आग्रह गरेका छन् । विश्वका सनातन अनुयायीहरूको आस्थाको केन्द्र मुक्तिनाथ रहेको भन्दै अध्यक्ष ढकालले त्यस क्षेत्रलाई सांस्कृतिक, प्राकृतिक एवं धार्मिक सम्पदा स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । 

सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले चीन जोड्ने कोरोला नाका सञ्चालन हुनसकेमा मुलुकको समृद्धिमा ठुलो टेवा पुग्ने ढकालको भनाई छ। “मुक्तिनाथ क्षेत्र हुँदै मानसरोकारको यात्रा गर्न सकिने अवस्था सिर्जना गर्न सकियो भने धार्मिक पर्यटनका माध्यमबाट देशले ठुलो लाभ लिन सक्छ, यसतर्फ प्रधानमन्त्रीज्यूमार्फत सरकारको ध्यान जाओस्”, ढकालले भने ।

प्रधानमन्त्री दाहालले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।“प्रधानमन्त्रीका हैसियतले कोरोला नाकालाई नियमित सञ्चालन गर्ने र त्यहाँको सडक निर्माणमा मेरो ध्यान गएको छ, आगामी सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा पनि यो विषय प्राथमिकताका साथ समेटिन्छ”, 

प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिका लागि धार्मिक पर्यटन महत्त्वपूर्ण आधार भएको बताएका छन्। उनले कोरोला नाका सञ्चालनमा आउँदा आर्थिक गतिविधिसँगै पर्यटन आवागमनमा पनि उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
 

१ महिना अगाडि

प्रतिक्रिया