विदेशी पर्यटकको ओइरो, दुई महिनामै १ लाख ७६ हजार भित्रिए

१ महिना अगाडि

काठमाडौँ - सन् २०२४ को सुरुदेखि नै नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपाल घुम्ने लक्ष्यसहित हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या यो वर्षको पहिलो महिनादेखि नै बढ्दो स्थिति छ । गत वर्ष सन् २०२३ को जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।२०२४ को फेब्रुअरी महिनामा ९७ हजार ४२६ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन विभाग ९हवाई माध्यम० मार्फत नेपाल घुम्न आएका हुन् ।बोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको फेब्रुअरीमा २४ हजार १७१ जना बढी पर्यटक नेपाल आएका हुन् । अघिल्लो वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ जना विदेशी नागरिक हवाई माध्यमबाट नेपाल भित्रिएका थिए ।यस्तै, सन् २०२४ को जनवरी महिनामा विदेशबाट नेपाल घुम्नका लागि ७९ हजार १०० जना आए । जबकि, सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना मात्रै विदेशी नेपाल घुम्न आएका थिए । यो २०२३ को जनवरीको तुलनामा २४ हजारले बढी हो । स्थलमार्ग हुँदै नेपाल आउनेको सङ्ख्या यसमा जोडिएको छैन ।यो तथ्याङ्कले कोरोना महामारीको वर्षदेखि घट्न थालेको नेपालको पर्यटन बजार पुनः लयमा फर्कन थालेको देखिन्छ ।नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्याको शीर्ष स्थानमा दक्षिण छिमेकी भारत छ । भारतबाट मात्रै यो दुई महिनामा ५० हजार पर्यटक नेपाल आएका छन् । भारतबाट धेरैजसो धार्मिक पर्यटक नेपाल भित्रने गर्छन् । उनीहरू नेपालको लुम्बिनी, मुक्तिनाथ, पोखरा, पशुपतिनाथ लगायतका धार्मिकस्थलको दर्शन गर्ने लक्ष्यसहित आउँछन् । यस बाहके नेपालको पहाडी र हिमाली क्षेत्रले समेत भारतीय पर्यटकलाई लोभ्याउँदै आएको छ ।

यसपछि, १६हजार ४४७ जना पर्यटक चीनबाट आएका छन् । जनवरी र फेब्रुअरी महिनामा नेपाल भित्रने धेरै पर्यटकको सङ्ख्याको दोस्रो स्थानमा चिनियाँ छन् । तर, चीन र भारतबिचको पर्यटकको भिन्नता भने फराकिलो छ । यस्तै, धेरै पर्यटक भित्रिने मुलुकको सूचीको तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट यस अवधिमा १६ हजार १३६ जना पर्यटक भित्रिएका छन् ।हालसम्मको अवधिमा चीन र अमेरिकाबाट भित्रने पर्यटकको सङ्ख्या उस्ताउस्तै छ । यसपछि थाइल्याण्डबाट दुई महिनाको अवधिमा ९ हजार ४१८ जना पर्यटक नेपाल भित्रिएका छन् । थाइल्याण्डबाट विशेष गरी नेपालको लुम्बिनी भ्रमणमा पर्यटक आउने गर्छन् । यस्तै, संयुक्त अधिराज्यबाट ८ हजार पर्यटक आउँदा बंगलादेशबाट ७ हजार ७०० पर्यटक नेपाल आएका छन् ।
अस्ट्रेलियाबाट ६ हजार, दक्षिण कोरियाबाट ३ हजार ८००, भुटानबाट २ हजार २२९, जापानबाट १ हजार ५६८ जना भित्रिएका छन् । यस्तै, म्यानमारबाट ३ हजार, जर्मनीबाट २ हजार ५०० जना पर्यटक घुम्नका लागि नेपाल आएका छन् ।सार्वजनिक भइरहेका पछिल्ला तथ्याङ्क नेपालको पर्यटन व्यवसाय र व्यवसायीको पक्षमा छ । सन् २०२३ भरमा १० लाखभन्दा धेरै विदेशी नेपाल घुम्नका लागि आएका थिए । सरकारले सन् २०१९ मा फैलिएको महामारीपछि पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सन् २०२३ मा १० लाखभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । जुन, लक्ष्य पुरा भइसकेको छ ।सन् २०१९ मा विश्वभरबाट १२ लाखभन्दा धेरै पर्यटक नेपाल आएका थिए । तर, भ्रमण वर्ष २०२० अघि नै विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ध्वस्त बन्यो । तर, यतिबेला पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको तथ्याङ्कहरूले देखाएको छ । सन् २०१९ पछि गत वर्ष पहिलो पटक १० लाख पर्यटक नेपाल भित्रेका थिए । तर, २०२४ को जनवरी र फेब्रुअरीमा सन् २०२३ को तुलनामा अत्यधिक पर्यटक आइरहेका छन् । यो दुई महिनामा मात्रै १ लाख ७६ हजारभन्दा बढी पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।


विदेशी पर्यटकलाई तान्नका लागि विमानस्थलपछि चाहिने सबैभन्दा महत्त्वपूर्ण पूर्वाधारका रूपमा होटल चाहिन्छ । तर, नेपालमा यतिबेला झन्डै १८० भन्दा बढी तारे होटल सञ्चालनमा रहेको पर्यटन विभागको तथ्याङ्क छ । यी सबै होटलमा गरी ११ हजारभन्दा बढी कोठा छन् । नेपालमा पहिलो पटक सन् २०२९ मा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो ।
सोल्टी होटल स्थापनाको ५१ वर्षको अवधिमा नै उल्लेख्यरुपमा नेपालमा होटल स्थापना भइसकेका छन् । नेपालमा स्वदेशी र विदेशी लगानीमा स्तरीय होटल स्थापनामा हुनुको पछाडि ‘भ्रमण वर्ष २०२०’को महत्त्वपूर्ण भूमिका पाइन्छ । भ्रमण वर्ष घोषणा भएपछि उल्लेख्य मात्रामा विदेशी चेन होटल स्थापनाको लहर चल्यो । नेपालमा सञ्चालनमा रहेकामध्ये पछिल्लो २ वर्षको अवधिमा नै करिब १०० होटल सञ्चालन र सञ्चालनको तयारीमा रहेको विभागको तथ्याङ्क छ ।सरोकारवालाहरूको अनुसार नेपालको पर्यटन पूर्वाधारले प्रतिवर्ष ३० लाख पर्यटकको आवागमन धान्न सक्छ । होटल संघ नेपालको तथ्यांकअनुसार नेपालमा सञ्चालित सबै होटल र होमस्टे गरी प्रतिवर्ष ३० लाख पर्यटक धान्ने पूर्वाधार तयार भए पनि यसको ५० प्रतिशत क्षमतामा मात्रै पर्यटक पर्यटक भित्रिन थालेका छन् ।

१ महिना अगाडि

प्रतिक्रिया