दिपायलका एकल महिलालाई अटोरिक्सा प्रदान

१ महिना अगाडि

काठमाडौँ  - दिपायल सिलगढी नगरपालिका - ४ की एकल महिलालाई अटोरिक्सा हस्तान्तरण गरिएको छ । नगर प्रमुख बाजी सिं खड्काले एक औपचारिक कार्यक्रमका बीच एकल महिला भागादेवी नेपालीलाई अटोरिक्सा हस्तान्तरण गरेका हुन् ।

६ लाख मूल्य बराबरको अटोरिक्सा पाउँदा खुसी भएकी भागादेवीले अटोरिक्सा पुरुषले मात्र नभइ महिलाले पनि चलाउन सक्ने आत्मबल प्रदान दिइएकोमा खुसी व्यक्त गरिन् । केही वर्ष यता दिपायल र शिखर क्षेत्रमा अटोरिक्साको व्यावसाय फस्टाउँदो छ । अटोरिक्सा चालक डोटीमा पुरुष अधिक छन् । दिपायल सिलगढी नगरपालिकाको २ लाख तथा सम विकास केन्द्र (इडिसी) र एक्सन एड नेपालले ४ लाख रुपैयाँ लगानी गरी अटोरिक्सा हस्तान्तरण गरेका हुन् । बिहीबार शिखर नगरपालिकामा पनि थप अर्को अटोरिक्सा शिखर नगरपालिकासंगको सहकार्यमा हस्तान्तरण गर्ने योजना रहेको सम विकास केन्द्र इडिसीका अध्यक्ष केशव परियारले बताए । १३ बर्षअघि श्रीमान गुमाएकी भागादेवीले त्यसयता ज्याला मजदुरी गरेर चार सन्तानको पालन पोषण गर्दै आएकी थिइन् । न्यून ज्याला मजदुरी र कामको अभावमा जीवन गुजार्न नै संघर्ष भइरहेका बेला सवारी चालकको तालिमदेखि अटोरिक्सा नै प्रदान गरेकोमा भागादेवीले खुसी व्यक्त गरिन् ।

माइतमा आएर ४ सन्तान र जन्मदिने आमाको स्याहार गर्दै भागादेवीले ६ लाख मूल्य बराबरको अटोरिक्साबाट प्राप्त आम्दानीले जीवनशैली नै फेरिने योजना सुनाइन् । सम विकास केन्द्रले भागादेवी सहित ७ जना महिलालाई अटोरिक्सा सवारी चालक अनुमतिका लागि एक महिने तालिम समेत संचालन गरेको जनाएको छ । नगर प्रमुख बाजी सिं खड्काले अटोरिक्साले भागादेवीलाई मात्र प्रेरणा नभइ अन्य महिलाहरुका लागि समेत सन्देश रहेको सुनाए । महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने सन्देश दिन नगरपालिका र इडिसीले अटोरिक्सामा लगानी गरेको बताए ।

१ महिना अगाडि

प्रतिक्रिया