काठमाडौँ कर तिर्न तनहुँको दमौली वा पोखरा जानुपर्ने बाध्यताको अन्त्य गरी लमजुङबासीका लागि बेंसीसहरमा २०७७ असोजमा आन्तरिक राजस्व कार्यालय दमौली अन्तर्गत करदाता सेवा कार्यालय खुल्यो । कर बुझाउनमात्रै हजारौं रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता रहेकोमा अहिले घर आँगनमै कर बुझाउने कार्यालय छ । तर, विभिन्न व्यवसायीले भने कर बुझाइरहेका छैनन् ।
करदाता सेवा कार्यालय बेंसीसहरले व्यवसाय वा फर्म दर्ता गरेर आयकर नबुझाएका लमजुङका ४ हजार ७ सय ५६ जनाको नाम र पान नम्बर सार्वजनिक गरेको छ । कार्यालयका अनुसार लमजुङमा ११ हजार ८ सय ७७ व्यवसायिक फर्म छन् । तर, ४० प्रतिशत बढी व्यवसायिक फर्मले कर बुझाएका छैनन् ।कार्यालयले करदातालाई हाल सम्मको आय विवरण पेश गरेको भन्दै यथाशीघ्र आय विवरण पेश गरी सोही बमोजिम कर दाखिला गर्न अनुरोध गर्दै नामावली सार्वजनिक गरेको छ । कार्यालयले कर नतिरेमा जरिवाना, शुल्क र ब्याज बढ्दै जाने भनेको छ । कर अधिकृत हरिप्रसाद ढकालले राज्यलाई तिर्नुपर्ने कर कुनैपनि हालतमा छुट तथा मिनाहा नहुने भन्दै कर नतिरी सुख नपाउने बताएका छन् ।कर नतिर्नेमा जिल्लामै नाम चलेका व्यावसायी तथा व्यवसायिक फर्महरु छन् । केही संस्थाले आफूले कार्यक्रमको आयोजना गर्ने तर, यसको आय विवरण बुझाएका छैनन् । धेरैजसो कृषि तथा पशु फर्महरु छन् । ती फर्महरुले अनुदानका लागि फर्म दर्ता गरेपछि पछिल्ला वर्षमा आय विवरण तथा कर नबुझाएको पाइएको छ । आमा समूह, युवा क्लव, महिला समूह, सहकारी, सामुदायिक वन उपभोक्ता समूह, केही मिडिया हाउस, किराना पसललगायतले आय विवरण र कर नबुझाएको पाइएको छ । कार्यालयका अनुसार पछिल्लो आर्थिक वर्ष २०७९र०८० को कर ७ महिनासम्म चुक्ता नगर्नेको नामावाली सार्वजनिक गरिएको हो । कतिपयले असोज मसान्त र पुस मसान्तमा आय विवरणसहित कर बुझाएका छन् । ‘आर्थिक वर्ष सकिएपछि आफ्नो कारोबारको लेखा परीक्षण गर्ने र तत्काल आयविवरणसहित कर बुझाउनुपर्ने हुन्छ । तर, त्यो गरेको पाइँदैन’ कर अधिकृत ढकालले भने । उनका अनुसार पुराना बक्यौता समेत रहेका छन् ।
कर कार्यालयका अनुसार बेंसीसहर नगरपालिकामा मात्रै १ हजार ८ सय ९२ वटा व्यवसायिक फर्मले आय विवरण बुझाएका छैनन् । सुन्दरबजारका १ हजार ५४, मध्यनेपालका ५ सय ६१ र राइनास नगरपालिकाका १ सय २६ वटा व्यवसायिक फर्मले कर बुझाएका छैनन् । मर्स्याङ्दी गाउँपालिकाका ४ सय ५९ वटा व्यवसायिक फर्म, दोर्दीका ३ सय २०, दूधपोखरीका १ सय ७५ र क्व्होलासोथार गाउँपालिकाका १ सय ६९ वटा फर्मले आय विवरण र कर बुझाएका छैनन् । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले राज्यबाट सेवा सुविधा खोज्ने तर, राज्यलाई कर तिर्न नखोज्ने गरेको पाइएको बताए । ‘हामीले व्यवसाय सूचिकरणका लागि कतिपयटक सार्वजनिक सूचना जारी गर्यौं, व्यवसायीलाई आहृवान गर्यौं, कर्मचारीलाई पठायौं । कर तिर्नुपर्छ भनेर व्यवसाय नै सूचिकरण गर्न मान्दैनन् ।’ उनले बेंसीसहरमा १ हजार ८ सय व्यवसाय सञ्चालन रहेको विवरण भए पनि १ हजार ३ सय व्यवसायमात्रै नगरपालिकामा सूचिकृत भएको बताएका छन् ।लमजुङ उद्योग बाणिज्य संघका अनुसार लमजुङका १० वटा इकाइमा २ हजार ४ सय व्यवसायी आवद्ध छन् । बेंसीसहर इकाइमा मात्रै ८ सय व्यवसायी आवद्ध छन् । ‘अहिले व्यवसायी ज्वरो आएर सुतेको अवस्था छ । हामी केन्द्रदेखि एकद्धार प्रणालीमार्फत कर बुझाउने वातावरण मिलाउनुपर्ने माग लिएर अघि बढेका छौं’ उनले भने, ‘व्यवसायीले कर तिरिरहेका छन् । जरिवाना तिरेर भए पनि कर तिरेका छौं ।’ उनले समय–समयमा कर शिक्षा तालिमहरु सञ्चालन भइरहे पनि व्यवसायी नै नआउने समस्या रहेको बताएकाछन् । ‘हामी व्यवसायीलाई एक ठाउँमा ल्याउने प्रयासमा छौं । नयाँ समिति निर्वाचित भएको २ महिना भएको छ । कार्ययोजना बनाएर अघि बढ्छौं । राज्यलाई कर त तिर्नुपर्छ’ उनले भनेका छन् ।
प्रतिक्रिया