गोरु पाल्ने लाई १० हजारसम्म अनुदान

१ महिना अगाडि

काठमाडौँ - पछिल्लो समय पहाडी जिल्लाहरूमा आधुनिक हाते ट्र्याक्टरको माग बढ्दो छ। गाउँगाउँमा हाते ट्र्याक्टर भित्रिए पछि हलगोरु पाल्ने किसानको संख्या घट्दो छ। नेपालका केही स्थानीय तहहरूले हाते ट्र्याक्टर खरिदका लागि अनुदानको व्यवस्था गरे पनि बागलुङको एक पालिकाले भने हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने भएको छ। 

 


बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको हो। नगरपालिकाले कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम सार्वजनिक गरेको छ। रैथाने बालिको संरक्षण, स्थानीय स्रोतसाधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले हलगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको जैमिनी नगरपालिकाका पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए। ‘किसानहरूलाई प्रोत्साहनका लागि नगरपालिकाले प्रस्ताव आह्वान गरेको छ,’ शाखा प्रमुख ढकालले भने, ‘गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलब्ध गराउन लागिएको हो।’आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा बिदेसिने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास छ। ‘गोरुको प्रयोगले ढिला होला तर अनुत्पादक हुँदैन,’ उनले भने, ‘व्यावसायिक किसानलाई भन्दा आफ्नो लागि मात्रै उत्पादन गर्ने किसानका लागि मेसिनभन्दा गोरुको प्रयोग उपलब्धिमूलक हुन्छ।’ नगरपालिका भित्र झन्डै तीन सय बढी हाते ट्र्याक्टरलगायत सामग्री खनजोतका लागि प्रयोगमा रहेको शाखा प्रमुख ढकालको भनाइ छ। आवश्यक ठाउँमा प्रविधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ। ‘कृषिमा आधुनिक हाते ट्र्याक्टर भित्रिँदा स्थानीय स्रोतसाधनको प्रयोग नै हरायो,’ ढकालले भने, ‘गोरु पाल्ने संस्कृति घट्दा कृषि बालीका लागि आवश्यक मलमूत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नु परेको हो।’

 

१० वडा रहेको नगरपालिकाले पहिलो चरणमा ३० जना किसानलाई अनुदान दिने जनाएको छ। ‘नगरपालिकाभरिबाट तीन सय जना किसानले प्रस्ताव पेस गरेका छन्,’ शाखा प्रमुख ढकालले भने, ‘पेस भएका प्रस्तावमध्येबाट चालु आर्थिक वर्षमा ३० जना किसानलाई जनही १० हजारका दरले प्रोत्साहन उपलब्ध गराइनेछ।’ जैमिनी नगरपालिकाका बेसी फाँटहरूमा हाते ट्र्याक्टरको प्रयोग बढ्दो भए पनि लेकका खेतबारीमा गोरुले जोत्ने प्रचलन कायम छ। पछिल्लो समय रैथाने स्थानीय जातका गाई पाल्नेहरूको संख्यामा कमी आउँदा गोरु पाउन समेत कठिन हुने गरेको किसान रुद्रप्रसाद शर्माले बताएका छन् । यस्तै, नगरपालिकाले राँगा पाल्ने किसानलाई समेत प्रोत्साहन गर्न थालेको छ। ‘मासु र दूधमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ,’ शाखा प्रमुख ढकालले भने, ‘बिउका लागि राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलब्ध गराउँदैछौं।’ चालु आर्थिक वर्षमा नगरभरिका २० जना किसानलाई जनही १० हजार रुपैयाँका दरले प्रोत्साहन उपलब्ध गराउन लागिएको ढकालले बताए। हलगोरु र राँगा पाल्ने किसानहरूको तथ्यांक तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको नगरपालिकाले जनाएको छ।

१ महिना अगाडि

प्रतिक्रिया