तिलगंगाको लेन्स ४० देशका नागरिकको आँखामा

१ महिना अगाडि

काठमाडौँ - गत बिहीबार डा. सन्दुक रुइतलाई भेट्दा उनमा एक प्रकारको छटपटी देखिन्थ्यो । सधैं हँसिलो देखिने उनको मुहारमा गम्भीर चिन्तनको थकान थियो । डा। रुइतमा अहिले वार्षिक साढे चार लाख लेन्स उत्पादन गर्ने ल्याब्रोटरीलाई मुनाफा वितरण नगर्ने तर आर्थिक रूपमा दिगो उद्योग बनाउने हुटहुटी जागेको छ ।

नवीन जीवनलाई संसारमा ल्याउँदा एउटा आमामा हुने ‘प्रसव वेदना’ ले उनलाई पनि गाँजेको छ ।‘अहिले सम्म हामीले मान्छेको आँखा नै लाग्छ भनेर पनि लेन्स उत्पादन गर्ने ल्याबलाई तिलगंगाको भुइँतलामा लुकाएर राखेका थियौं । तर, अब यो बाहिर निस्कनु पर्छ । ठूलो हुनुपर्छ । अझ बढी उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘यसको अप्रेसन कमर्सियल हुन्छ तर यसले गर्ने सबै मुनाफा समुदायलाई जान्छ । यो अहिले दिगो त छ तर अगाडि बढिरहेको छैन । मलाई यो सुनखानी हो जस्तो लाग्छ । त्यसैले यसलाई सदुपयोग गरेर समाजले नै लाभ लिनुपर्छ भन्ने मेरो मान्यता हो ।’ नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको उत्पादन विभाग ‘द फ्रेड हलोज इन्ट्रा ओकुलर लेन्स ल्याब्रोटरी’ अब औपचारिक रूपमा उद्योगमा रूपान्तरित हुने तयारीमा छ । ‘हामीले नेपाल सरकारको उद्योग मन्त्रालयमा मुनाफा वितरण नगर्ने उद्योगका रूपमा यसलाई दर्ता गरिसक्यौं,’ डा.रुइतले भने, ‘हामी यो उद्योग हेटौंडामा स्थापना गर्दै छौं । त्यसपछि हाम्रो उत्पादन क्षमता संख्यामा त बढ्छ नै, विभिन्न प्रकारका प्रिमियम लेन्स पनि उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनेछौं ।’

डा. रुइतलाई हेटौंडामा इन्ट्राओकुलर लेन्स उत्पादन गर्नका लागि करिब ३० करोड रुपैयाँ तत्काल आवश्यकता छ । त्यो रकम कहाँबाट जोहो गर्ने भनेरै उनको मथिंगल अहिले खलबलिएको हो । ‘हामीले उद्योग मन्त्रालयमा दर्ता प्रक्रिया सकायौं । हेटौंडामा जग्गा पनि मिलाएका छौं,’ उनले भने, ‘तर, पूर्वाधार निर्माण गरेर उत्पादन प्रक्रिया सुरु गर्दासम्म धेरै रकम आवश्यक हुन्छ । हामी समुदायको हितमा काम गर्ने संस्थाले एकै पटक त्यति ठूलो रकमको जोहो गर्न कठिन छ । तसर्थ, सरकारले पनि सहयोग गरिदियोस् भन्ने चाहना हो ।’ उनका अनुसार इन्ट्राओकुलर लेन्स नेपालको गौरव हो । ‘राष्ट्र र यहाँका नेताहरूले जसरी फास्ट ट्र्याकलाई गौरवको योजना भन्छन्, हेटौंडामा बनाउने योजना रहेको लेन्स उद्योग पनि त्यसभन्दा कम छैन,’ उनले भने, ‘त्यो उद्योगले नेपाललाई विश्वमा थप चिनाउन मद्दत गर्नेछ । यस्तो योजना पनि त गौरवको योजना हो । 
 

१ महिना अगाडि

प्रतिक्रिया